प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गर्न लागेको उजुरी परेपछि चितवनमा देउवा निजी गाडीमा होटल पुगे

बुधबार चितवन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर विमानस्थलबाट चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । कांग्रेसका सभापतिसमेत रहेका देउवा पार्टीको कामका लागि चितवन पुगेका हुन् । 

प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । 

कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा३च २०४० नंको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुगेका हुन् । श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए । उनले भने, ‘यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ ।’

श्रेष्ठका अनुसार देउवा यहाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्नेछन् । उनले भने, ‘सबै खर्च पार्टीले गर्नेछ ।’ सभापति देउवा र उनको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै हुन् । 

पार्टी सभापति देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट आएका हुन् । उनका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सो जहाज कांग्रेसले भाडामा ल्याएको हो । उनले भने,‘निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो ।’

जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा आएका हुन् । उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आज आएका छन्। 



सभालाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । 

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार छन् । त्यस्तै, उपप्रमुख पदमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन् ।



  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार २०:१६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया