पाँच वर्ष उपप्रमुखको अनुभव सँगालेका मकवानपुरका दुई महिला प्रमुख बन्ने होडमा

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । मकवानपुरको १० वटा स्थानीय तहमा पनि निर्वाचनको तयारी भइरहेको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्ता भेला, बैठक, प्रचारप्रसार, घरदैलोलगायतका कार्यक्रममा व्यस्त देखिन्छन् । मत माग्नका लागि घोषणा पत्र बोकेर उनीहरु जनताको घरदैलोमा पुगिरहेका छन् । 

आसन्न निर्वाचनमा जिल्लाका नौ स्थानीय तहमा कार्यभार सम्हालेका उपप्रमुखहरु आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख बन्न चाहान्थे । अवसर पाए पालिका हाँक्न सक्ने आँट बनेको बताउने उपप्रमुखमध्ये दुई महिला उपप्रमुखहरु आसन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

अर्थात् अब मतदाताले पत्याए भने पाँच वर्ष पालिका प्रमुख बनेर विकास गर्नका लागि महिला पनि सक्षम छन् भन्ने उदाहरण दिनका लागि आफ्नो उम्मेदवारी रहेको सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदकी उम्मेदवार मीनाकुमारी लामा बताउँछिन् । 

बाँकी गाउँपालिकाको महिला उपप्रमुख भने पार्टीको छनोटमा नपरेकै कारण प्रमुखमा आउन नसकेको बताउँछन् । जिल्लाको हेटौँडा उपमहानगरपालिकाको मेयर पदकी उम्मेदवार मीना लामा र बकैया गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदकी उम्मेदवार सरला बोलखेले आसन्न सनीय तहको निर्वानमा प्रमुखमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

त्यस्तै, जिल्लाको मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बा आसन्न स्थानीय तहको निर्वाचनको उम्मेदवारी दिनबाट ब्याक भएर अरुलाई पालो दिएकी छन् । सातवटा स्थानीय तहमा पाँच वर्ष उपाध्यक्ष पद पाएका मध्ये भीमफेदी गाउँपालिकाकी पार्वती राना, बागमती गाउँपालिकाकी धनमाया स्याङ्तान, कैलाश गाउँपालिकाकी सुकुमाया थिङ, इन्द्रसरोवर गाउँपालिकाकी उमा लामा नेकपा एमालेका तर्फबाट पुनः उपाध्यक्ष पदकै लागि टिकट पाएपछि अध्यक्ष ताकेका महिलाहरुले उपमै चित्त बुझाएर उपप्रमुखमै आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । 

त्यस्तै, राक्सिराङ गाउँपालिकामा पनि नेपाली कांग्रेसबाट ०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष बनेकी निर्मला हिम्दुङले यसपटकको निर्वाचनमा उपाध्यक्ष पदमा समेत टिकट पाउन सकिनन् । गाउँपालिकामा सत्तारुढ गठबन्धन भएपछि कांग्रेसबाट अध्यक्ष र माओवादीबाट उपाध्यक्ष पाउने भएपछि कांग्रेसबाट राजकुमार मल्लले नै टिकट पाए भने माओवादीबाट उपाध्यक्षमा वनस्तम थिङले टिकट पाएपछि हिम्डुङको अध्यक्ष बन्ने सपना टुंगिएको छ । 



गठबन्धनबाट गाउँपालिकाको उपाध्यक्षमा बागी उम्मेदवारी दर्ता गराएकी उनले केन्द्र र प्रदेशको आदेशलाई पालना गरेर उम्मेदवारी फिर्ता गरेकी छिन् । उनले भनिन्, ‘मैले उम्मेदवारी फिर्ता लिएँ । आफ्नो पार्टीभन्दा ठूलो कुरा केही छैन । अहिले गठबन्धनकै उम्मेदवारलाई मत माग्न घरदैलोमा जुटिरहेको छु ।’ उनका अनुसार आफ्नो इच्छाभन्दा पनि पार्टीको अवस्थालाई विचार गरेर स्वविचारले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । 

त्यसो त, १० पालिकामध्ये उपाध्यक्ष पद सम्हालेका दुई अनुभवी महिला उम्मेदवार पालिका प्रमुख बन्ने दौडमा छन् । नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवारी दिएकी बोलखे अध्यक्ष बनेपछि पनि चुनौती रहे पनि आफूले त्यसमा लागिपर्नका लागि उम्मेदवारी दिएको बताउँछिन् । 



‘उपाध्यक्ष भएर काम गरिरहँदा अपूरा रहेका थुप्रै काम छन् । त्यसलाई पूरा गर्नका लागि पनि मेरो उम्मेदवारी हो । नेतृत्वमा रहेर पालिका चलाउन नसक्लान् कि भन्ने शंका चिर्न पनि मेरो अध्यक्ष पदमा उम्मेदवारी हो ।’ बोखेले भनिन्, ‘उपाध्यक्ष भएर काम गरिरहँदा मेरो नेतृत्व भएको भए यसो गर्थें भन्ने भावना आइरहन्थ्यो । त्यसैले पनि आसन्न स्थानीय तहको निर्वाचनमा बकैयाको अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । यसमा पार्टीले पनि मलाई सहयोग गर्यो । महिलालाई पनि अवसर दिनुपर्छ भनेर पार्टीले जुन महिलामैत्री निर्णय गर्यो, त्यो नै स्वागतयोग्य छ जस्तो आभास गरेको छु ।’

त्यसो त सत्तारुढ गठबन्धनबाट हेटौंडाको मेयरको टिकट पाएकी मीना लामा पनि आफ्नो मेयर बन्ने इच्छा रहेकोमा गठबन्धनको सरकारले अवसर दिएकोमा मख्ख छिन् । सत्तारुढ ५ दलीय गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको तर्फबाट साझा उम्मेदवार लामाले पनि गठबन्धनको साथ र सहयोगले नै हेटौँडाको मेयर बन्ने दाबी गरिरहेकी छिन् । 

पाँच वर्ष उपमेयर चलाएको अनुभव र हेटौँडाको विकासमा बहालवाला मेयर हरिबहादुर महतको भिजन, योजना र कार्यशैलीलाई नजिकबाट नियाल्ने अवसर पाएकी लामाले आगामी निर्वाचनमा हेटौँडालाई आर्थिक उन्नतिको बाटोमा ल्याउँदै स्मार्ट सिटीको रुपमा विकास गर्ने उद्देश्यअनुसार मेयर पदमा उम्मेदवारी गराएको लामा बताउँछिन् ।

‘अवसर पाए महिलाले पनि नेतृत्व चलाउन सक्छन् भन्ने उदाहरण बन्नु छ । काम गर्नका लागि महिला पुरुषभन्दा पनि क्षमता र दक्षता जाँच गर्नुपर्छ भन्ने सन्देश दिनका लागि मेयर बन्न चाहन्छु,’ लामाले भनिन् ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट हेटौँडाको उपमेयरमा विजयी भएकी लामा संसद विघटनपछि अहिले एकीकृत समाजवादीमा छिन् । लामाले अघिल्लो स्थानीय तहको निर्वाचनमा २३ हजार ४ सय ३७ मत प्राप्त गरेर विजयी भएकी थिइन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बलराम वलले १७ हजार ११ मत मात्र प्राप्त गरका थिए ।

  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार २१:२९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया