[अन्तर्वार्ता] ‘निर्वाचित भए युवा श्रमिक सेना गठन गर्छु, एमालेले १५ सय मत पनि पाउँदैन’

स्थानीय तहको निर्वाचन आउन अब डेढ साता पनि बाँकी छैन । ३० वैशाख नजिकिएसँगै अहिले राजनीतिक दल र तीनका उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा थप तातेका छन् । मतदाता रिझाउनका लागि उम्मेदवार महत्वाकांक्षी एजेण्डाका साथ घरदैलो अभियानमा छन् । बझाङको छसिबपाथिभेरा गाउँपालिकामा गठबन्धनबाट अध्यक्षको प्रत्यासी रहेका माओवादी केन्द्रका नेता बसन्त चलाउने पनि विभिन्न एजेण्डाका साथ चुनावी मैदानमा छन् । पहिलोपटक निर्वाचन लड्न लागेका चलाउनेले आफूसँग गाउँपालिकाको मुहार फेर्ने भिजन रहेको दाबी गर्दै आएका छन् । प्रस्तुत छ तिनै गाउँपालिका अध्यक्ष प्रत्यासी चलाउनेसँग निर्वाचन केन्द्रित रहेर फरकधारकर्मी लोकेश धामीले गरेको कुराकानीको सम्पादित अंश : 

कस्ता चुनावी एजेण्डाका साथ मतादातामाझ गइरहनुभएको छ? 

अन्य उम्मेदवारजस्तै मेरो पनि केही एजेण्डा समान छन् । तर, अरूको एजेण्डाको बारेमा म अहिले चर्चा गर्दिन । मैले केही महत्वपूर्ण विषयलाई जोड दिएको छु । मेरो प्राथमिकताको विषयवस्तुमा युवालक्षित स्वरोजगार सिर्जना गर्नु रहेको छ । यदि निर्वाचित भएमा सबै वडामा युवा श्रमिक सेना गठन गर्ने योजना छ । उनीहरूले कामसँगै वडामा भएको विकास निर्माण, योजनाको कार्यान्वयनको अवस्थाको बारेमा मूल्यांकन गर्नेछन् । यो विषयलाई मैले उठाउनुको कारण हाल बढिरहेको अनियमितता, भष्टाचार कम गर्नु नै हो । जनतामा योजनाका लागि विनियोजन गरेको रकम निर्माण कार्यमा खर्च गर्नुभन्दा व्यक्तिले बढी लिने गरेको गुनासो छ । त्यो गुनासोलाई मध्यनजर गरेर पनि प्रत्येक वडामा युवा श्रमिक सेना गठनको योजना ल्याएको छु ।  

त्यस्तै, मेरो अर्को प्राथमिकतामा रहेको विषय शिक्षा हो । अहिले हाम्रो गाउँपालिकामा गुणात्मक शिक्षा छैन । म निर्वाचित भएपछि प्राविधिकका साथै नैतिक शिक्षाको जग बसाल्ने छु । सातवटै वडामा नमूना विद्यालय निर्माण गर्ने योजना पनि छ । शैक्षिक सुधार कसरी गर्न सकिन्छ भनेर विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, अभिभावक र विद्यार्थीबीच तीन/तीन महिनामा बैठक राख्ने व्यवस्था लागू गर्ने पूरा प्रयास रहेनछ । गुणस्तर शिक्षा प्रदानका लागि स्वयमसेवक शिक्षक परिचालन पनि गर्नेछौं । निजी क्षेत्रबाट चलिरहेका विद्यालयको अवस्था सुधारदेखि तिनको आयस्रोतको विषयमा पनि गम्भीर भएर काम गर्नेछौं । 

तपाइँले निर्वाचन लडिरहेको गाउँपालिका कृषिमा राम्रो मानिन्छ, त्यसका लागि चाहिँ के छ योजना? 

पालिकाको प्रत्येक वडामा नमूना कृषि गाउँ बनाउने योजना छ । एक गाउँ एक उत्पादन कार्यक्रम लागू गर्ने भनेर मैले मतदाता भेटघाटमा पनि भनिरहेको छु । त्यो कार्यान्वयन गरेरै छाड्नेछु । हाम्रो पालिकामा हरेक वडामा आ–आफ्नै विशेषता छ । जुन ठाउँमा जे बढी उत्पादन हुन्छ त्यसैलाई जोड दिएर व्यावसायिक रूपमा किसानलाई लाभ पुग्ने तरिकाले काम गर्नेछौं । हाम्रो पालिकामा धेरै उत्पादन हुन्छ । तर, अहिले सबै ठाउँमा यातायात पुग्न नसकेकाले बजारीकरणको समस्या छ । त्यसको समाधानका लागि हरेक वडामा कृषि सहकारी स्थापना गर्ने योजना छ ।  



त्यस्तै, स्वास्थ्यतर्फ प्रत्येक वडामा रगत परीक्षणका लागि ल्याबको व्यवस्था गर्छु । ल्याब नहुँदा रगत परीक्षणकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । त्यसको अन्त्यका लागि वडामै रगत परीक्षण ल्याबदेखि स्वास्थ्य चौकी निर्माणको कामलाई प्राथमिकता दिनेछु । पाँच वर्षको अवधिमा सकेसम्म गाउँसम्म नै सडक कालोपत्रे गर्ने योजना छ । तर, त्यसका लागि गाउँपालिकाले मात्र आँटेर पुग्दैन । प्रदेश र संघीय सरकारको पनि साथ दिएमा त्यो पनि पूरा हुनेछ । त्यसको पहलका लागि म अग्रसर हुनेछु । निर्वाचित भएमा भाँडेदेखि गाउँपालिका कार्यालयसम्मको सडक कालोपत्रेको कामलाई प्राथमिकतामा राख्नेछु ।

अझै पनि हाम्रो समाजमा सामाजिक, राजनीतिक संस्कारको राम्रोसँग प्रचार पुग्न सकेको छैन । म निर्वाचित भएपछि गाउँगाउँमा जागरणका कार्यक्रमलाई पनि जोड दिनेछौँ । सभ्य, सुसंस्कृत गाउँपालिका बनाउनमा हामी मिलेर काम गर्नेछौं । साथै, बजेट विनियोजना गर्दा सबैभन्दा पहिले जनताका माझ जानेछौँ । जनताका समस्या सुन्नेछौँ, उहाँहरूका प्राथमिकता नोट गर्नेछौं । त्यहीअनुसार बजेट विनियोजन गर्नेछौं ।  



पर्यटनको क्षेत्रमा चाहिँ के छ तपाइँको योजना? 

हाम्रो गाउँपालिकाले पर्यटनका लागि पनि अत्यधिक सम्भावना बोकेको छ । तर, अहिलेसम्म उचित प्रचारप्रसार हुन नसक्दा हाम्रो सुन्दर ठाउँ ओझेलमा परेका छन् । यदि म गाउँपालिकाको अध्यक्षमा आएमा यहाँको ऐतिहासिक सम्पदाको संरक्षण र मर्मत सम्भारदेखि पर्यटकीय स्थललाई व्यवस्थित बनाउनेछौँ । पर्यटकबाट यहाँको जनताले धेरै आर्थिक उन्नती गर्ने सम्भावना छ । त्यसको लागि हामी ठोस योजनाका साथ अगाडि बढ्नेछौँ । माटेसाउलाई ‘ग्रेट वाल नौबिस’ बनाउने पनि योजना छ । साथै, वडा नम्बर ७ मा पर्ने बासुधारा मन्दिर पुग्नका लागि थप व्यवस्थित बाटो, अन्य संरचना निर्माणमा जोड दिनेछौँ । एकपटक हामी सातै वडाको पर्यटकीय स्थलको निरीक्षण गर्नेछौं, त्यहीअनुसार संरक्षण र सम्वर्द्धनका लागि बजेट विनियोजन गर्नेछौं । सबै वडामा समान विकास गर्ने तरिकाले अगाडि बढ्नेछौँ ।

तपाइँले चुनाव जित्ने आधार केके हुन्? 

सबैभन्दा त चुनाव जित्ने आधार भनेको हामीले उठाएका मुद्दा र एजेण्डा नै हुन् । हामीले जे जे एजेण्डाका साथ चुनावी मैदानमा जाँदैछौं ति सबै जनतासँग प्रत्यक्ष जोडिएका छन् । साथै, यसपालि हामी गठबन्धनबाट पनि चुनाव लड्दैछौँ । तीन दल एक भएर चुनावमा जाँदा जित हाम्रो पक्का जस्तै छ । गठबन्धनमा कुनै मनमुटाव छैन । 

यसपालि एमालेसँग कुनै डर छैन? 

अघिल्लो चुनावमा छबिसपाथिभेरा गाउँपालिका अध्यक्षमा माओवादी एक्लै त दोस्रो आएको थियो । झन् यो पटक त हामी गठबन्धनबाट चुनावमा जाँदैछौं । ०७४ को निर्वाचनकै कुरा गर्दा हामी निकै बलियो छौं । पहिलो एमालेबाट जितेका साथीहरू पनि अहिले गठबन्धनमै हुनुहुन्छ । त्यस्तो हुँदा एमालेसँग कुनै प्रतिस्पर्धा हुँदैन । एमालेले यसपालि बढीमा १५ सय मत पाउँछ । हामीले कम्तिमा पनि ५ हजार मत प्राप्त गर्ने आँकलन गरेका छौं । यसपालि चुनावमा मत बदर हुने सम्भावना बढी भएकाले अहिलेलाई हामीले यो आँकलन गरेका छौं । मतदाता शिक्षाबारे पनि जनतालाई जानकारी गराइरहेका छौं । आशा गरौं सकेसम्म मत बदर कम हुनेछौं ।  

माओवादीभित्रै पनि विवाद छ, टिकट वितरण जनभावनाअनुसार नभएको भनेर केही ठाउँमा बागी उम्मेदवार नै उठेका छन्, त्यसले चुनाव जित्न समस्या हुँदैन? 

जित्न समस्या हुँदैन । हो केही वडामा हामीले आँकलन गरेअनुसार टिकट पाउन सकेनौँ । हाम्रै गाउँपालिकाको वडा नम्बर ७ माओवादीकै भागमा पर्नेमा हामी ढुक्कै थियौं । त्यहीअनुसार पनि हामीले माथि रिपोर्ट गरेका थियौं । तर, गठबन्धनमा आवद्ध अन्य दलसँग सहमति मिलाउनुपर्ने बाध्यात्मक परिस्थितिका कारण हामीले चाहेर पनि सो वडा छोड्नुपर्ने भयो । हामीले यसलाई सकारात्मक तरिकाले पनि हेरेका छौं । वडा नम्बर ७ माओवादी बाहुल्य ठाउँ हो । हामीले यहाँ अर्कोपटक पनि उठे जित्छौँ । तर, हामी अन्य गाउँपालिकाको वडामा कमजोर थियौं । त्यहाँको संगठन विस्तारका लागि पनि हामीले वडा नम्बर छोड्नुपर्ने बाध्यता भयो । माओवादीभित्रकै असन्तुष्ट साथीहरूसँग पनि हामी छलफलमै छौं । उहाँहरूको आक्रोश, माग जायज नै हुन् । तर, बाध्यताले यसपालि अघिल्लोपटक हामीले जितेको वडा कांग्रेसलाई दिनु परेको हो । 

गठबन्धनमा रहेका अन्य दलले साथ दिनेमा कत्तिको ढुक्क हुनुहुन्छ? 

विश्वस्त छु । उहाँहरूको साथ हामीलाई हाम्रो साथ उहाँहरूलाई चाहिएको छ । त्यसैले कसैले कसलाई घात गर्दैन भन्नेमा ढुक्क छु । बाध्यताले पनि यसपालि उहाँले हामीलाई हामीले उहाँहरूलाई भोट हाल्नुपर्छ ।   

माओवादीले छबिसपाथिभेरामा गाउँपालिका र वडा नम्बर ६ को अध्यक्षको मात्र टिकट पाएको छ, यदि तपाई निर्वाचित भएमा कार्यपालिकामा प्रस्ताव पास गर्न समस्या हुँदैन? 

त्यस्तो समस्या हुँदैन होला । निर्वाचित भएपछि म सातै वडाको साझा अध्यक्ष हुँ । म यो वा त्यो पार्टीभन्दा पनि सबैलाई उत्तिकै साथ रहनेछ, साझा उम्मेदवार भएर चुनावी मैदानमा भएकाले पनि कार्यपालिकामा पछि समस्या नहोला ।  

गठबन्धनमा रहेका अन्य दलले साथ दिनेमा कत्तिको ढुक्क हुनुहुन्छ? 

विश्वस्त छु । उहाँहरूको साथ हामीलाई हाम्रो साथ उहाँहरूलाई चाहिएको छ । त्यसैले कसैले कसलाई घात गर्दैन भन्नेमा ढुक्क छु । बाध्यताले पनि यसपालि उहाँले हामीलाई हामीले उहाँहरूलाई भोट हाल्नुपर्छ ।  

तपाई निर्वाचित भएमा तत्काल के–के काम गर्नुहुन्छ? 

सबैभन्दा पहिले त देशभरिमा राम्रो काम गर्ने पालिकाको अध्ययन गर्नेछौं । त्यहाँ कसरी काम भएको छ? कसरी सफल हुन पुगे? यस्तै प्रश्नहरूको खोजी गर्नेछौं । अनि तत्काल नै हाम्रो गाउँपालिकाको चुनौती र सम्भावनाको सूची बनाउँछौं । त्यहीअनुसार योजना बनाउँछौं । गाउँपालिकाको अवस्थाको बारेमा सुक्ष्म अध्ययन गछौं । अपाङ्गता, जेष्ठ नागरिक, दीर्घ रोगी, बेसहारासहित समाजमा पछाडि परेको समुदाय, मानिसको डाटा ६ महिनाभित्र कलेक्सन गर्नेछौं । निर्वाचित भएमा छबिसपाथिभेरालाई नमूना गाउँपालिका बनाउने गरी काम गर्नेछु । 

  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १३:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया