आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आजै आदेश आउन सक्ने
फाइल तस्वीर

नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । 

आईजीपी नियुक्ति सम्बन्धमा एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो ।

उक्त रिटमाथि आज पाँच जना अधिवक्ताहरूले बहस गरेका थिए । बहस सकिएपछि आजै आदेश आउने अनुमान गरिएको छ । बुधबारदेखि सुरु भएको सुनुवाइ पहिलो दिन नभ्याइएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज इजलासमा पोखरेलको तर्फबाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत, माधव बस्नेत, सुनील पोखरेल र रमेश बडालले बहस गरेका थिए । एआईजी पोखरेलले समेत बहस गरेका थिए । बहसको क्रममा उनले आईजीपी नियुक्ति विषय आफ्नो मृत्युसँग जोडेका थिए । 

डेढ वर्ष जुनियरलाई आईजीपी बनाएको भन्दै सिनियरलाई छोडेर जुनियरलाई आईजीपी नियुक्त गर्नु आफ्नो लागि मृत्युभन्दा दुःखद् भएको बताएका थिए । बुधबार पहिलो बहसमा पोखरेलको तर्फबाट अधिवक्ताहरू मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादव लगायतले बहस गरेका थिए । 

त्यस्तै, आईजीपी नियुक्त भएका धीरजप्रताप सिंहले पनि आफ्नो तर्फबाट बहसका लागि वकिलहरू राखेका थिए । उनको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए ।



गत आईतबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो वरियतामा रहेका धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । आफूभन्दा जुनियरलाई आईजीपी नियुक्त गरेको भन्दै पहिलो वरियतामा रहेका पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 



  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १४:१०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया