पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको काम सत्ता स्वार्थबाहेक केही नभएको बताएका छन् । कैलालीको बर्दगोरियामा आयोजित स्थानीय निर्वाचनलाई लक्षित आमसभालाई सम्बोधन गर्दै ओलीले नाता गोता र आफन्तलाई भर्ना गर्न मात्रै गठबन्धन बनेको बताएका हुन् ।
अहिलेको परमादेशी सरकार संविधानविपरीत बनेका कारण यो सरकारलाई बिदाई गर्नुपर्ने ओलीले बताए । अहिले त्यही गठबन्धन र एमाले बीचको लडाइँ रहेका कारण एमालेलाई नै विजयी गराउन ओलीले आग्रह गरे ।
सडक चौडा, कृषिको आधुनिकीकरण, पर्यटनको विकास लगायतका एजेण्डा स्थापित गराउन एमालेलाई विजयी गराउनुपर्ने ओलीले बताए ।
कुनै नीति योजनाबिना व्यक्तिगत स्वार्थका लागि मात्र गठबन्धन बनेको बताउँदै ओलीले एमालेसित स्पष्ट भिजन रहेको दाबी गरे ।
एमालेले गुमेको भूमि फिर्ता ल्याउन पहल गरेर नक्सासमेत निकाल्दा गठबन्धन सरकार भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिक खसाल्दासमेत चुइँक्क बोल्न नसकेको ओलीले उल्लेख गरे ।
'एमाले देश बनाउन चाहन्छ,' ओलीले भने, ‘ज्येष्ठ नागरिकको सम्मानमा बृद्ध भत्ता, देशको शिर ठाडो पार्न विदेशीसामु अडान कायम, विकासमा क्रान्तिलगायतका काम एमालेले मात्रै गर्न सक्छ यो त्यस कारण यो गठबन्धनलाई परास्त गरी एमालेलाई नै विजयी गराउनुपर्छ ।’
उनले थारूको क्षेत्र रहेको कैलालीमा रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कारण नभएको कुरा पनि उल्लेख गरे । ‘रेशम टीकापुर घटना सहभागी नै थिएनन्’, उनले भने, ‘त्यसले गर्दा मेरो नेतृत्वमा सरकार रहेको बेला छुट्याउन ६ बुँदे सहमति भएको थियो । गठबन्धनहरूले काम गर्न दिएनन् ।’
उनले प्रचण्ड माधवहरू गठबन्धनमा गएर आफ्नो धारणा राख्न नपाएर रोइरहेको समेत बताए । ‘प्रचण्ड र माधवहरूलाई कांग्रेसका साथीहरुले बोल्नसमेत दिएका छैनन्’ उनले भने ‘हिजो रोइ-कराइ गरेपछि आज बल्ल बोल्ने दिने सहमति भएको छ ।’ बोल्न पाएकोमा प्रचण्ड र माधवलाई उनले बधाई समेत दिए ।
ओलीले कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी भएपछि प्रचण्डको अवस्था मुसोको जस्तो भएको आरोप लगाएका छन् ।
‘प्रचण्ड एमालेको अध्यक्ष हुँदा, उहाँ दोस्रो अध्यक्ष हुनुहुन्थ्यो, शेरजस्तो हुनुहुन्थ्यो । अहिले भिजेको बिरालो होइन, मुसोजस्तो हुनुहुन्छ ।’
एमालेमा अपमान भयो भन्ने माधव नेपालको गठबन्धनमा के भइरहेको छ भनेर ओलीले प्रश्नसमेत गरे गरे ।
‘यहाँ अपमान भो भनेर हिँडेका माधव नेपाल, समय छैन भने पनि बोलेरै साँझ पारिदिने माधव नेपाल मञ्चमा ठाउँ नभएर तल बस्नुहुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।