प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनको उम्मेदवार रेनु दाहाललाई निर्वाचनमा जिताउन आग्रह गरेका छन् ।
बिहीबार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई सबैले सहयोग गरेर जिताउन आग्रह गरेका हुन् ।
उनले निवर्तमान मेयर समेत रहेकी दाहालले महानगरपालिकामा राम्रो काम गरेको भन्दै राम्रो काम गर्नेलाई जिताउनुपर्ने बताए । दाहालले निर्वाचन जितिसकेको उल्लेख गर्दै उनले कांग्रेसले बखेडा गर्नुनहुने बताए ।
प्रधानमन्त्री देउवाले देशमा गठबन्धन आवश्यक रहेको बताए । उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै भरतपुरबाट गठबन्धन टुट्न दिनु नहुने बताए । उनले हाल दाहाललाई जिताउनु आफूहरुको कर्तव्य रहेको भन्दै पछि आफूहरुका लागि छोड्न आग्रह गरिने पनि बताए । उनले दाहाललाई हरायो भने जनताले के भन्लान भन्दै चिन्ता व्यक्त गरेका छन् ।
'उहाँलाई सहयोग गरेर हेर्नुपर्यो नि हामीले एकपल्ट । हाम्रो कर्तव्य हो अहिले उहाँलाई जिताउनुपर्ने कर्तव्य । यस्तो राम्रो काम गर्ने मान्छेलाई हरायो भनेदेखि यहाँको जनताले के भन्लान् ? भरतपुरका जनताले के भन्लान् ? महानगरपालिकाका मान्छेले के भन्लान् ? जसले यस्ता–यस्ता काम गर्ने अठोट लिनुभएको छ । सबै साथीहरुले सहयोग गरेर उहाँलाई जिताउनुस्' उनले भने ।
प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस गठबन्धनको पक्षमा रहेको बताए । उनले नेपाली कांग्रेसको महाधिवेशनबाट ८२ प्रतिशत मतका साथमा आफू सभापति निर्वाचित भएको स्मरण गर्दै गठबन्धनका प्रति जनताको भरोसाका कारणले नै आफू सभापतिमा निर्वाचित भएको बताए । आफ्नो सभापतिमा भएको जित नै गठबन्धन प्रतिको समर्थन रहेको उनले जिकिर गरे ।
उनले भरतपुरमा रेनु दाहालले गरेका विकास निर्माणका कामका कारण काठमाडौंमा भन्दा जग्गा महँगो भएको बताए । दाहाललाई कुनै पनि शंका नहुने स्थितिबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।