जनतासँग क्षमायाचना नगरी ओलीलाई भोट माग्ने नैतिक आधार छैन : गगन थापा

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नरहेको दाबी गरेका छन् ।

प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले गत पाँच वर्षमा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकले गरेको उपलब्धिबारे जानकारी गराउनुपर्ने पनि बताए ।

महामन्त्री थापाले २०७४ सालयताको पाँच वर्ष कम्युनिस्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए । उनले कम्युनिस्ट नेता र पार्टीहरूले खेर फालेको पाँच वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताए ।

महामन्त्री थापाले कम्युनिस्ट पार्टीहरूले जनताले देश विकासका लागि जिताएर पठाएको भए पनि पाँच वर्षको अवसर खेर फालेकोले त्यसको लागि जनतासमक्ष क्षमायाचना गर्नुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘पाँच वर्षमा एकपटक जनताको बीचमा उभिएर मैले पाँच वर्षका लागि म्यान्डेट पाएको थिएँ, मैले चलाउन सकिनँ, यसको लागि मलाई क्षमा देऊ, मैले पाँच वर्ष संसद चलाउन सकिनँ, मैले पाँच वर्षको अवसरलाई प्रयोग गर्न सकिनँ भन्ने कुराको क्षमा एकपटक नमागिकन, माफीको याचना नगरीकन जनताको बीचमा एक किसिमले भन्दा मत माग्ने नैतिक आधार पनि छैन भन्ने नेपाली कांग्रेसको आफ्नो ठम्याइ हो ।’

महामन्त्री थापाले अबको पाँच वर्ष नेपाली कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताए । उनले समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली कांग्रेसँग रहेको पनि स्पष्ट परे ।



महामन्त्री थापाले अबको पाँच वर्ष कांग्रेसले खेर फाल्न नचाहेको बताए । उनले विगतका पाँच वर्षमा कम्युनिस्टहरूले खेर फालेको समयलाई कांग्रेसले त्यो क्षतिलाई पूरा गर्ने गरेर काम गर्ने दाबी गरे ।

महामन्त्री थापाले यसपटकको स्थानीय निर्वाचनमा कांग्रेसबाट जित्ने सदस्यले श्रोत, साधनको अपचलन नगर्ने दाबी गरे । उनले अबको पाँच वर्ष विगतको पाँच वर्षभन्दा फरक रहने पनि बताए । महामन्त्री थापाले कुनै पनि ठाउँमा विधि मिचेर मनलाग्दी श्रोत, साधनको दुरुपयोग नगर्न पनि निर्देशन दिए ।



  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार १३:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया