उग्र अलमुताइरी, शान्त दासानायके

अहिले नेपालमा फुटबल र क्रिकेट लोकप्रियता शिखरमा छ । लोकप्रियता दिनहुँ बढ्दो क्रममा भए पनि यी दुई खेलभित्रको विवाद पनि छताछुल्ल भइरहेको छ । नेपालमा एकपछि अर्को गरी फुटबल र क्रिकेटका विवाद बाहिर आइरहेका हुन् ।    

हाल फुटबलमा अब्दुल्लाह अलमुताइरी र क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी पुबुदु दासानायकेले सम्हालिरहेका छन् । यी दुई प्रशिक्षकको व्यक्तिगत व्यवहार निकै भिन्न छ । अलमुताइरी सधैं चर्चामा आइरहेका छन्/आइरहन चाहन्छन् । तर, क्रिकेट प्रशिक्षक दासानायके भने शान्त छन् । उनी सामाजिक सञ्जालमा पनि खासै सक्रिय छैनन् ।  

अलमुताइरीको अहिलेसम्मको यात्रा 

कतार फुटबल संघको सहयोगमा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक बनेर नेपाल आएको सुरुवातदेखि नै अलमुताइरी चर्चा र विवादमा छन् । सामाजिक सञ्जालमा निकै सक्रिय उनी एन्फाका हरेक क्षेत्रमा आफ्नै नियन्त्रण चाहन्छन् । चाहे त्यो मैदानभित्र होस् वा बाहिर ।

अलुमताइरीले सुरुमा एन्फा  वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफूलाई काम गर्न नदिएको भन्दै फेसबुकमार्फत राजीनामा दिने धम्की दिए । राजीनामा दिन्छु भन्दै सातदोबाटोस्थित एन्फा मुख्यालय पुगे पनि अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झाएपछि अलमुताइरी रोकिएका थिए ।  

उनी माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि फेरि कहिल्यै नेपाल नफर्कने भन्दै उतैबाट कुवेत लागे । अलमुताइरीले अचानक नेपाली टोलीको प्रशिक्षण छाड्ने घोषणा गरेपछि एन्फा अध्यक्ष शेर्पा छलफल गर्न कतार पुगे । शेर्पा र कतार फुटबल संघको आग्रहमा अलमुताइरी दुई वर्षको सम्झौता थप गर्दै फेरि नेपाल फर्किए । 



पछिल्लो समय पनि उनकै कारण फेरि नेपाली फुटबल तरंगित भएको छ ।  अलमुताइरीको कार्य शैलीप्रति असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षणसमेत छाडिसकेका छन् ।  

यो विषयले अहिले नेपाली फुटबलमा शिखरमा छ । फुटबलको नेतृत्व गरिरहेको एन्फा भने यो विषयलाई प्राथमिकतामा राखेको छैन । खेलाडीले क्याम्प नै छाड्नुपर्ने अवस्था कसरी आयो भन्ने विषयमा समयमै अनुसन्धान गर्न आवश्यक नठानेको एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को दबाब आएपछि भने उसले यसमा चासो देखाएको छ । 



अन्तरिक विवाद खेलकुदको उच्च निकायसम्म पुग्नु एन्फाका लागि लाजमर्दो हो ।  विवादको प्रमुख कारण अलमुताइरी नै देखिएका छन् । पछिल्लोपटक देखिएको विवाद बस्ने बासस्थानको बारेमा सुरु भएको देखिन्छ । खेलाडीका अनुसार एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहँदा एन्फा होस्टल कि होटलमा बस्ने भन्ने विषयमा कुरा नमिल्दा विवाद बाहिर आएको हो । 

टोली कार्यवाहक कप्तान रोहित चन्दले प्रशिक्षणको अवधिमा होटलमा बस्नुपर्ने माग राखेपछि विवादको सुरु भएको थियो । त्यतिबेला रोहित एक्लैले त्यो आवाज उठाएका थिए । उनको आवाजलाई अलमुताइरीले दबाउन खोज्दा विवाद उत्पन्न हुन पुग्यो । विवाद बढेपछि अलमुताइरीले रोहितलाई प्रशिक्षण छाडेर घर फर्कनसक्ने बताए । 

रोहितसँग प्रशिक्षकले गरेको व्यवहार देखेर अन्य ९ खेलाडी पनि चुप लागेर बस्न सकेनन् । र, उनीहरूले रोहितलाई साथ दिने घोषणा गरे । त्यसपछि खेलाडी र प्रशिक्षकबीचको विवादले चर्चा पायो । खेलाडीले राखेको माग सम्बोधन गर्ने जिम्मा  एन्फाको थियो । तर, अलुमताइरीले खेलाडीलाई साथ दिनुपर्नेमा उनीहरूविरुद्ध नै खनिए ।   

अलमुताइरीले मिडियामा बोल्न नदिने, आफूले फेसबुकमा पोष्ट गरेका कुरा मात्र सेयर गर्न लगाउने गरेको खेलाडीले नै बताएका छन् । यसको मतलब उनी खेल मैदानभित्र मात्र नभइ बाहिर पनि खेलाडीलाई नियन्त्रणमा राख्ने योजनामा छन् । 

अलमुताइरी नेपाली समर्थकको भावनासँग खेल्न पनि माहिर छन् । उनले केही दिनअघि मात्र सामाजिक सञ्जालमार्फत आफूले क्याम्प छाडेका खेलाडीलाई माफी दिएकाले उनीहरूमाथि कुनै कारबाही नगर्न आग्रह गर्दै एन्फालाई लेखेको पत्र सर्वाजनिक गरेका थिए । 

खेलाडीलाई आफ्नो टोलीमा राख्ने/नराख्ने निर्णय गर्ने सम्पूर्ण अधिकार प्रशिक्षकमा निहित रहन्छ । तर, अनुशासन मा नरहने खेलाडी वा पदाधिकारीलाई कारबाही गर्ने/नगर्ने निर्णय गर्ने अधिकार त अनुशासन कमिटीको हो । अलमुताइरी यसमा पनि हाबी भएका छन् ।  

दासानायकेको दोस्रो इनिङ्स 

दोस्रोपटक नेपाली क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका पुबुदु दासानायके भने मिडिया र सामाजिक सञ्जालबाट टाढै छन् । उनी दोस्रो इनिङ्समा अहिलेसम्म विवादमा देखिएका छैनन् । 

बरु पुबुदुले खेलाडी र क्यानबीच देखिएको विवाद समाधान गर्न प्रभावकारी भूमिका खेले । उनी दोस्रोपटक प्रशिक्षक बनेर नेपाल आउँदा क्यान र पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित केही खेलाडीबीचको विवाद उच्च विन्दुमा थियो । 

क्यानले अनुमतिबेगर मिडियामा बोलेको भन्दै तत्कालिन कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाउँदै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको थियो ।

साथै, क्यानले ज्ञानेन्द्र र दीपेन्द्रहित कमलसिंह ऐरी र सोमपाल कामीलाई सन् २०२२ को केन्द्रीय सम्झौताबाट सुरुवाती ६ महिना बाहिर राख्ने निर्णय पनि गर्‍यो । खेलाडी र क्यानबीचको विवाद पेचिलो बन्दै गएको अवस्थामा पुबुदुले यी दुई पक्षलाई मिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । 

छलफलपछि क्यान खेलाडीलाई केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णयबाट छि हट्यो । कप्तानमा भने क्यानले सन्दीपलाई नियुक्त गर्‍यो । विवाद समाधान भएपछि खेलाडी पनि प्रशिक्षणमा आउन तयार भए । अहिले नेपाली टिम अर्को महिना अमेरिकामा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजका लागि तयारी गरिरहेको छ । तयारी स्वरूप नेपालले जिम्बाब्वे ‘ए’ टिमसँग सिरिज खेलिरहेको हो । 

  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार १३:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया