नेपालमा १८ जेठदेखि १४ असोजसम्म मनसुन रहने, सरदरभन्दा बढी पानी पर्ने
फाइल तस्वीर

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको जनाएको हो ।

विभागको आकलनअनुसार आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ ।

प्रदेश १ का तराईका भू-भाग, बागमती प्रदेशका उत्तर पूर्वी भू-भाग, गण्डकी प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले सुदूरपश्चिम प्रदेशका पूर्वी भू-भाग, कर्णाली प्रदेशका मध्य भू-भाग, गण्डकी प्रदेशका मध्यपश्चिमी भू-भाग र प्रदेश १ को मध्य भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको बताए ।

उनले गण्डकी प्रदेशको उत्तरी भू-भाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भू-भागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले हनुमान गरेको बताए ।



उनका अनुसार प्रदेश १ को उत्तरी भू-भाग, वागमती प्रदेशको दक्षिणी भू-भाग र मधेस प्रदेशका अधिकांश भू-भागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको पनि विभागको आकलन छ । 



मौसमविद् हुमागाईंले गत वर्षमा मनसुन अवधिभर ६ वटा स्टेशनमा वर्षाको रेकर्ड तोडिएको बताए । उनका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेशनहरुमा पहिलाको रेकर्डहरुलाई ब्रेक गरेर धेरै वर्षा मनुसुन अवधिमा भएको हो ।

उक्त मनसुन वर्षाले ७९ जनाको निधन भएको थियो, जसमा बाढीको कारण ४३, चट्याङको कारण २७ जना र भारी वर्षाको कारणले १६ जनाको मानवीय क्षति भएको बताए ।

त्यस्तै, जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले यो वर्ष पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको बेलैमा सचेत रहन आग्रह गरे । उनले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ–आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गरिन् ।

उपमहानिर्देशक श्रेष्ठले पूर्वानुमान गतिको समय जति नजिक हुन्छ त्यति नै पूर्वानुमानको विश्वसनीयता धेरै हुने गरेको र एक हप्ताभन्दा लामो समयको मौसमको पूर्वानुमानमा विश्वसनीयता कम हुँदै जाने गरेको बताइन् ।

त्यस्तै, वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले नेपालमा मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या भइरहेको गुनासो गरिन् । उनले विभागमा अनुसन्धानका लागि स्किल ह्यूमेन रिसर्चहरुको आवश्यक रहेको बताइन् ।

  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार १७:४४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया