नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध गरे ।
पाँच दलीय गठबन्धनले आज राजधानीको शान्तिबाटिकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले काठमाडौंमा सिर्जना सिंह र भरतपुरमा रेनु दाहाललाई हरायो भने विश्वले के भन्ला भन्दै चिन्ता व्यक्त गरे ।
‘काठमाडौंमा सृजना सिंहलाई हरायो भने दुनियाँले के भन्छ ? चितवनमा रेणु दाहाललाई हरायो भने विश्वले के भन्छन् ? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ देउवाले भने ।
सिर्जना सिंहका आमा-बुबाले बिहे गरेर प्रकाशमान सिंहलाई दिएको भन्दै त्यसमा विरोध गर्ने काम बन्द गर्न सबैमा अनुरोध गरे ।
‘अब सिर्जनाका आमा-बुबाले बिहे गरेर प्रकाशमानको घरमा पठाइदिए त के गरून विचारीले । प्रकाशमानको श्रीमतीलाई मेयरको टिकट दियो भने बखेडा झिकेर हुन्छ ?,’ उनले प्रश्न गरे ।
आफ्नो मन नहुँदा नहुँदै प्रधानमन्त्री बनाइएको स्मरण गराउँदै अहिले आएर धेरै निहुँ खोज्ने काम भइरहेको बताए । अहिलेको अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनअनुसार नै अगाडि बढ्नुपर्ने उनले बताए ।
काठमाडौंमा सिर्जनालाई मेयरमा उठाउँदा प्रकाशमान सिंह डराएको भन्दै आफूले नै टिकट दिनुपर्छ भन्दै अगाडि बढेको बताए । चितवनमा रेनुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने गरेको भन्दै उनले भने, ‘रेनुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त । तर, मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।