हिम्मतपुरका मुक्तकमैया भन्छन् : अब आश्वासनकै भरमा नेतालाई भोट हालिँदैन

कैलालीको धनगढी उपमहानगरपालिका–१२ हिम्मतपुर शिविरकी फकतीदेवी चौधरीको घरमा हिजोआज बिहानदेखि साँझसम्म नेताहरू नमस्कार गर्दै भोट माग्न पुग्छन् । उनलाई नेताले नमस्कार गरेको देख्दा पाँच वर्ष पहिलेको सम्झना आउँछ । ‘पाँच वर्ष पहिले पनि नेताहरूले आफूलाई जिताएमा सबै काम गर्छु भनेका थिए,’ उनले भनिन्, ‘तर, कमैयावस्तीमा फर्केसम्म हेरेनन् ।’

पाँच वर्षअघिको गुनासो अहिले पनि त्यस्तै रहेको उनले बताइन् । ‘नेताहरू चुनावमा कमैया शिविरमा आएर विभिन्न आश्वासन दिएर भोट माग्छन्, पछि फर्केर आउँदैनन् । बोलेको बाचा पनि पूरा गर्दैनन्’, उनले भनिन् । हिजो-आज आउने शुक्रबार हुने निर्वाचनका लागि उम्मेदवारहरू भोट माग्न व्यस्त छन् ।

‘हाम्रो गाउँमा आउने नेताहरू अहिले पनि हामीलाई सहयोग गर्नुहोस् तपाईंहरूको व्यवस्थापन गरौँला भनेर भनिरहेका छन्,’ उनले भनिन्, ‘अब त भोट दिने कि नदिने भन्ने दोधारमा छौँ । यहाँको अवस्था हेर्नु यस्तो छ, बत्तीको हालत पनि उस्तै छ । साँझ र पावर पुग्दैन, काटी हाल्छ, सुधार होला भनेर के आस गर्नु ।’

यस्तै, हिम्मतपुरमै बस्ने अर्की मुक्तकमैया अस्मिता चौधरीले शिविरमा आएर नेताहरूले एक बोतल रक्सीमा सोझासाझालाई लठ्ठ पारेर भोट किन्ने गरेको आरोप लगाइन् । ‘गाउँमा सेवा-सुविधा केही पुग्न सकेको छैन,’ उनले भनिन्, ‘सबैभन्दा बढी समस्या सडक र खानेपानीको छ । सडकका नालाहरू पनि बनाइएका छैनन् ।’

उनले नेताहरूले चुनाव जितेर गएपछि जनतालाई चिन्नै छोड्ने गरेको बताइन् । ‘अहिले भोट माग्ने बेला नमस्ते हजुर, दिदीबहिनी भन्दै हिँड्ने गरेकाहरू जितेर गएपछि चिन्दैनन्,’ उनले भनिन् ।

उनले गाउँमा विद्यालय व्यवस्थापन लगायतका काम पनि हुन नसकेको बताइन् । ‘हामीले एउटा सानो भवनका लागि वडा कार्यालयदेखि नगरपालिकामा पहल गर्दा पनि सुन्दैनन्’ उनले भनिन्, ‘आफैँ पैसा उठाएर विद्यालय भवनमा जस्ता हालेर काम चलाए पनि अहिले त्यो पनि भत्किसक्यो ।’



छोराछोरीलाई राम्रो स्कुल पढाउने शक्ति आफूहरूसँग नभएको स्थानीयको दुखेसो छ । दिनभर मजदुरी गरेर ल्याएको पैसाले पेट भर्न र छोराछोरीलाई स्कुल पढाउन नै मुस्किल हुने गरेको उनले बताइन् ।

‘नमस्कार भन्दै भोट माग्न आउँछन्,’ स्थानीय विपतराम चौधरीले भने, ‘मलाई भोट दिएर जिताउनुहोस् म तपाईंको दुःख-सुख हेर्छु भनेर भन्छन्, तर अन्तिममा कुनै सहयोग हुँदैन ।’ उनले चुनाव जितेर गएका नेताहरू अहिलेसम्म फर्केर नआएको बताए ।



‘भोट माग्दै प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले भगतपुरको मन्दिर बनाइदिनछु भन्नुभयो,’ उनले भने, ‘आजसम्म त्यस्तै छ । जितेपछि बेपत्ता हुनुभयो, फर्केर आउनु भएन ।’

चुनावका बेला नेताहरूले सडक, खानेपानी, विद्यालय र विद्युत् जस्ता सुविधा पुर्‍याउने आश्वासन दिए पनि पूरा नहुने गरेको उनको गुनासो छ ।

घरीराम चौधरीले भोट माग्न आउने नेताहरूलाई जितेर गइसकेपछि अनुहार देख्न मुस्किल हुने गरेको बताए । उनले अहिले मिलेको लालपुर्जा पनि सक्कली हो कि नक्कली हो भन्नेबारे पनि आफूहरू विश्वस्त नरहेको बताए ।

लालपुर्जा लिँदा १५ देखि २५ रुपैयाँ तिरेर लिएको उनले बताए । त्यो लालपुर्जा भए पनि जग्गा जमिन बेच्न नमिल्ने र बैंकमा धितोसमेत राख्न मिल्दैन भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘लालपुर्जा दिँदा हामीलाई धेरै जस्तो चौधरीमा जाँडरक्सी खान्छन्,’ उनले भने ‘के थाहा धितो राखेर जाँडरक्सी पो खान्छन् कि ?’

जसले विकास गर्छ उसैलाई भोट दिने राजकुमारी चौधरीले बताइन् । ‘आश्वासनकै भरमा नेतालाई भोट हालिँदैन’ उनले भनिन् ।

पूर्व संविधानसभा सदस्य हरि श्रीपाइलीले मुक्तकमैयाको पुनर्स्थापनाका लागि सरकारसँग माग गरेको बताए । ‘पुनर्स्थापनका लागि काम सुरु भएको छ,’ उनले भने ‘नेपालमा अब कुनै पनि हलिया, कमैया र कमलरीले पुनर्स्थापना भएन भन्ने स्थिति आउने छैन ।’

आफूहरूले भोटका लागि मात्रै राजनीति नगरेर मुक्तकमैयाको पुनर्स्थापनाका लागि लागिपर्ने उनको भनाइ छ ।

स्थानीय, प्रदेश र संघीय सरकारले हलिया, कमैया, कमलरीको अवस्था, हाल छुट भएकाको संख्या, उनीहरूको शिक्षा, स्वास्थ्य र रोजगारमा के गर्नुपर्छ भन्ने लगायतका विषय यकिन गरेर सरकारलाई प्रतिवेदन बुझाएको उनले बताए । उनले सबै कुरा नभए पनि पहिलेको चन्दा धेरै सुधार भएको बताए ।

  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार १९:५७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया