मुड्खुदेखि तीन पिप्लेसम्म सुरक्षाकर्मी खटाएर ओसारिँदै काठमाडौंको फोहोर

११ वैशाखदेखि अवरुद्ध फोहोर ढुवानी आजबाट सुरु भएको छ । काठमाडौं महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई साथमा लिएर फोहोर ढुवानीलाई नियमित गरेको हो । 

वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईका अनुसार सडक निर्माणको माग राखेर स्थानीयले फोहोर ढुवानी अवरुद्ध गरेको यो तेस्रो पटक हो । 

‘स्थानीय मागका विषयमा वैशाख २२ गते गरिएको छलफलमा आन्दोलनरत पक्षले कुनै पनि शर्तमा फोहोर ढुवानी गर्ने गाडी सञ्चालन गर्न नदिने अडान राखेपछि समस्या जटिल बनेको थियो’ निमित्त विभागीय प्रमुख राई भनिन्, ‘यसपछि सुरक्षा निकायको साथ महसुस भएको हो । त्यसपछि हामीले गृह मन्त्रालयलाई अवस्थाका विषयमा जानकारी गराएर सहयोग मागेका हौँ ।’  

उनले थपिन्, ‘आज मुड्खुदेखि तीन पिप्लेसम्मको सडक खण्डको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिनुभएको छ । आज दिनभरि प्रहरी परिचालन गरिएको थियो । बिहान १०ः३० बजेसम्ममा करिब १४६ ट्रक फोहोर खसालिसकियो । आज दिनभर फोहोर ओसार्ने योजना छ ।’

यसअघि स्थानीयवासीले सडक कालोपत्रे हुनुपर्ने माग राखेर १८ चैतदेखि दोस्रो पटक अवरोध गरेका थिए । सडक निर्माण कम्पनीले कालोपत्रे कार्यलाई सुचारु गर्ने प्रतिबद्धता जनाएपछि २७ चैतबाट कामलाई सहज बनाउन बिहानको समयमा मात्र फोहोर ढुवानी गर्ने गरिएको थियो । 

फागुन र चैत महिनाको अवरोधमा ३३ दिन फोहोर संकलन हुन सकेको थिएन । यसपटक ११ वैशाखबाट भएको अवरोध आजबाट खोलिएको हो । 



पटक-पटक फोहोर ढुवानीमा समस्या आएपछि महानगरको वातावरण तथा कृषि विभागले जैविक फोहोरलाई घरमै व्यवस्थापन गरेर सहयोग गर्न महानगरवासीलाई आग्रह गर्दै आएको छ । विभागका निमित्त प्रमुख राईले जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने योजना रहेको सुनाइन् । 

सडक निर्माणलगायत माग राखेर फोहोर ढुवानीमा स्थानीयबाट अवरोध भएपछि गएको २६ फागुनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सहरी विकास मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ । 



ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यसअघि गरिएका प्रतिबद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो । 

यही दिन काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा र्‍यापिड एक्सन टाक्सफोर्स गठन भएको छ । फोहोर व्यवस्थापनका लागि स्थलगत अवस्था मिलाउन तथा फोहोर व्यवस्थापनसम्बन्धी कानुनी र व्यावहारिक समस्यामा समाधानमा सहजीकरण गर्न यो फोर्स बनाइएको हो ।   

उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ । जसमध्ये करिव ५ सय ४५ मेट्रिक टन फोहोर काठमाडौं महानगरको हो ।

  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १४:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया