आर्थिक सल्लाहकार उप्रेती भन्छन् - मुलुकको अर्थतन्त्र सही दिशामा छ

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्यांक विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेको भन्दा बढी हुने बताएका हुन् । उनले अहिले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको बताए । 

आर्थिक सल्लाहकार उप्रेतीले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फीतिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने दाबीसमेत गरे । उनले कोरोना महामारीपश्चात बैंक तथा वितीय संस्थाबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए । 

मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरेपनि केही समय अगाडि ३८ प्रतिशतसम्म पुगेको बताए । निर्यातभन्दा पनि आयात एक्कासि रूपमा ह्वात्तै बढेकाले वाह्य क्षेत्रमा दबाब परेको उनको भनाइ छ ।  

आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भए पनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यवृद्धि भएको उल्लेख गरे । उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि, उत्पादन रोजगारीमा केन्द्रित हुने बताए । 

उनले बाह्य क्षेत्रमा सन्तुलनमा ल्याउनको लागि भए पनि अबको बजेटमा कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्र केन्द्रित हुनु आवश्यक रहेको बताए ।



त्यस्तै, अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ्य उत्पादन(जिडिपी)मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरे । 

उनले यस्तो अवस्था आउन नदिनको लागि सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथमकिता राखेर बजेट ल्याउनु पर्ने आवश्यकता रहेको बताए । 



डा.अधिकारीले सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट कार्यान्वयनमा समस्या देखिएकाले अर्थतन्त्रमा समस्या देखिएको बताए । सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो त्यो लक्ष्य पूरा गर्न नसकेको दाबी अधिकारीको छ । 

सरकारले मुलुकको अर्थतन्त्र सहि दिशामा रहेको भने पनि अर्थतन्त्रका सूचकहरु हेर्दा अर्थतन्त्र संकटोन्मुख नै रहेको अर्थविद् अधिकारीले बताए । अर्थतन्त्रमा देखिएको संरचनागत समस्या समाधानको लागि राजनीतिक नेतृत्व तयार हुनु पर्ने आवश्यक रहेको बताए ।

  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १६:५८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया