शुक्रबार राति वीरेन्द्रनगरमा गाडी आगजनी गरेको आरोपमा प्रहरीले पाँच जना युवालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगरको बजार क्षेत्रमा रोकिराखेको अवस्थामा शुक्रबार राति दुई गाडीमा आगजनी भएको थियो ।
बा१४च ६८३१ नम्बरको स्कार्पियो र कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनीबसमा अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनी भएका स्कारपियो गाडी वीरेन्द्रनगर–६ स्थित बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङ गरी राखिएको थियो भने जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि मिनीबस रोकिराखेको थियो ।
आगजनी भएको स्कार्पियो गाडी भने वीरेन्द्रनगरको उपप्रमुख पदकी उम्मेदवार शान्ति ढकालले प्रयोग गर्ने गाडी हो ।
माओवादी केन्द्रबाट नगरको उपप्रमुख पदमा उम्मेदवार बनेकी ढकालले सो गाडी निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्दै आएकी थिइन् ।
शुक्रबार राति करिब दुई बजेतिर गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए ।
प्रहरीले गाडीमा आगजनी गरेको आरोपमा पाँच जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अधिकांश वीरेन्द्रनगरका युवा रहेका छन् ।
आगजनीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटमा क्षति पुगेको छ ।
‘घटनामा संलग्न हुनसक्ने शंकामा पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएका छौं’ एसपी विष्टले भने, ‘अनुसन्धान अघि बढिरहेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।