मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवार

स्थानीय तहको निर्वाचनको प्रचार गर्ने अवधि अब तीन दिन मात्र बाँकी छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनकौ मौन अवधि मंगलबार राति देखि सुरु हुँदै छ ।

कैलाली, कञ्चपुरलगायत सुदूरपश्चिममका गाउँ–बस्तीमा दल र तिनका उम्मेदवार मतदाता रिझाउन अन्तिम कसरत गरिहेका छन् ।
 
गठबन्धन दल र नेकपा एमालेबीच नै अधिकांश ठाउँमा मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षका उम्मेदवारले विभिन्न स्थानमा चुनावी सभा, भेटघाट र घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष अन्तरक्रिया सम्पन्न गरिरहेका छन् । प्रदेशका ८८ वटै स्थानीय तहमा उम्मेदवार घरदैलोका साथै भोट हाल्ने तरिका सिकाइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका चुनावी प्रतिस्पार्धा अझ रोचक बनेको छ । यहाँ गठबन्धन दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनौती दिएका छन् । 

धनगढीमा गठबन्धनका तर्फबाट कांग्रेसका नृपबहादुर वड चुनावी मैदानमा छन् । उनी पनि घरदैलोमा व्यस्त रहेका छन् । ‘एक चरणका घर दैलो कार्यक्रम सम्पन्न गरेर विभिन्न ठाउँमा भेला गर्नेदेखि मत हाल्ने तरिका सिकाइरहेका छौँ’, उनले भने । ‘यसपटक धनगढीमा गठबन्धनको जित निश्चित छ ।’
 
यस्तै, नेकपा एमालेका नेता रणबहादुर चन्द पनि आफ्नो पक्षमा मत पार्नका लागि दलमा रहेको जिल्लाको सम्पूर्ण शक्तिसहित मतदाता रिझाउने दाउमा छन् । ‘उम्मेदवारमा मनोनीत भएदेखि नै घरदैलो, अन्तरक्रिया, छलफल गरिरहेका छौँ’, उनले भने । ‘अहिले घर–घरमा पुगेर मतदातालाई मत हाल्ने तरिका सिकाइरहेका छौँ ।’ उनले पनि धनगढीमा यसपटक एमालेका जित हुने दाबी गरे ।

धनगढीमा स्वतन्त्र उम्मेदवार पनि आफ्नो पक्षमा मत पार्ने अन्तिम दाउमा रहेका छन् । स्वतन्त्र उम्मेदवार गोपाल हमाल यसपटक आफ्नो जित हुने बताउँछन् । ‘पहिलोपटक निर्वाचनमा जाँदा थोरै मतले पराजित भएको हो । त्यतिवेला धेरै मत बदर समेत भए’, उनले भने, ‘यसपालि त्यस्तो हुँदैन । पाँच वर्षसम्म सहरदेखि गाउँसम्म सबै मतदातासम्म पुगेको छु । यसपटक मेरो मात्र होइन, धनगढीको जित हुनेछ ।’

यसपल्टको निर्वाचनमा विगतका सबै तितो भुलेर कांग्रेस र माओवादी धनगढीमा एक भएर अगाडि बढेका छन् । निर्वाचन प्रचारको अन्तिम दिन गठबन्धनले  कार्यकर्ता भेटघाट र घरदैलोलाई तीव्रता दिने जनाएको छ ।



यस्तै, प्रदेशको डडेल्धुरा जिल्लामा पनि चुनावी प्रतिस्पर्धा अन्य जिल्लाको भन्दा फरक देखिएको छ । डडेल्धुरा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । यहाँ केन्द्रका गठबन्धनभन्दा फरक छ ।  कांग्रेस डडेल्धुराबाट छुट्टिएको पार्टी बिपी कांग्रेस र एमालेबीच चुनावी गठबन्धन रहेको छ । बिपी कांग्रेसको नेतृत्व डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्लले गरेका छन् ।

सबै नगरपालिका, गाउँपालिका र वडाहरूमा चुनावी कार्यक्रम सकेर अहिले घरदैलोमा भोट माग्दै जनतासँग प्रत्यक्ष अन्तरक्रियामा जुटेको कांगेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए ।



स्थानीय विकासको सवाल चुनावी प्राथमिकतामा परेको देखिएको छ । सडक, विद्युतीकरण, खानेपानी अनि शिक्षाको सहज पहुँचका साथै स्वास्थ्य क्षेत्रको विकास तथा कृषिको व्यवसायीकरणमा दलहरूले जोड दिएको देखिन्छ । मतदाता भने विगतमै यस्ता विषय उठे पनि पूरा भने नभएको भन्दै घोषणापत्रअनुसार विकास गर्नेमा शंका गर्छन् ।

  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १९:०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया