आचारसंहिता गम्भीर उल्लंघन गरे उम्मेदवारी खारेजसम्म गर्न अनुगमन टोली परिचालन

निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्नेगरी टोली परिचालन भएको जानकारी दिए ।

‘स्थलगतरूपमा कारबाही गर्न सक्छ । आचारसंहिता उल्लङ्घनको प्रकृति हेरेर उम्मेदवारी खारेजको हदसम्म टोली जान सक्छ’, उनले भने । सुरक्षा संवेदनशील र बढी मतदाता भएको १७ जिल्लामा टोली परिचालन भएको हो । विभिन्‍न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा टोली खटिएका हुन् ।

उनीहरूलाई शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई रहेको बताएका थिए । 

उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय रूपमा सम्पन्‍न गर्नेबारे आग्रह/पूर्वाग्रह नराखी ऐन, कानुनअनुसार प्रभावकारी अनुगमन गर्न निर्देशन पनि दिएका थिए । 

टोलीले आचार संहिताविपरीत दल र उम्मेदवारले झण्डा र गाडी प्रयोग गरे कारबाही गर्न सक्ने आयोगले जनाएको छ । अनाधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार ८:४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया