गठबन्धनको संयुक्त चुनावी सभामा किन जाँदैनन् बाबुराम र उपेन्द्र ?

कांग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिस्कार गर्दै आएका छन् ।

गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसक्यो । तीन ठाउँकै चुनावी सभालाई यी दुई नेताले भने बहिस्कार गरेका हुन् । 

पार्टीका दोस्रो तहका नेताहरूलाई भने चुनावी सभामा पठाउने गरेका छन् । जबकि, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नै चुनावी सभामा सम्बोधन गर्न खटिरहेका छन् ।

गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिरहेका छन् । तर, जसपाका यी दुई नेता भने गठबन्धन दलकै चुनावी सभामा नगई गृहजिल्लामा खटिएका छन् । उक्त पार्टीका एक नेता राजकिशोर यादव दुई अध्यक्ष गठबन्धनको संयुक्त चुनावी सभामा नजानुको कारण थाहा नभएको बताउँछन् । 

‘गठबन्धन दलका अन्य शीर्ष नेता त चुनावी सभामा देख्छु तर हाम्रा पार्टीका दुई अध्यक्ष गएको देख्दिनँ । यसबारे उहाँहरूलाई नै किन जानु नभएको भनेर सोध्नुहोला’, यादवले भने, ‘तालमेललाई लिएर केही असन्तुष्टि होला कि?’

शुक्रबार भट्टराईले तालमेलबारे असन्तुष्टि जनाएका थिए । ‘पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ’, भट्टराईको असन्तुष्टि ट्‍विटरमा पोखिएको थियो । 



असन्तुष्ट भएकै कारण उनले संयुक्त चुनावी सभा बहिस्कार गरेको देखिएको छ । र, गृहजिल्ला गोरखा पुगेर उनी आफ्ना पार्टीबाट उम्मेदवार बनेकाहरूलाई मत मागिरहेका छन् । त्यहाँ गठबन्धन दलहरूबीच तालमेल भएन ।

पार्टी अध्यक्ष यादव पनि असन्तुष्ट भएरै संयुक्त चुनावीमा सभालाई सम्बोधन गर्नेभन्दा पनि मोरङ पुगेर छोरा अमरेन्द्रलाई मत मागिरहेका छन् । 



अमरेन्द्र विराटनगर महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार हुन् । त्यहाँ पनि गठबन्धनमा समस्या छ । माओवादीकी नमिता न्यौपाने बागी उम्मेदवारी बनेकी छिन् ।

यादवकै पार्टीका नेता उमेश यादव पनि बागी उम्मेदवार छन् । उमेश लाल्टिन चिह्नसहित निर्वाचन अभियानमा छन् । गठबन्धन दलहरूबीच तालमेल व्यावहारिक रूपमा राम्रो नभएपछि असन्तुष्ट मात्रै नभए संयुक्त चुनावी सभालाई नै बहिस्कार गरेर यादव मोरङमा क्रियाशील भएका हुन् ।  

  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार ९:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया