कांग्रेस बरु राणासँग घाँटी जोड्न तयार भयो, हामीहरूसँग कहिल्यै सहकार्य गर्न चाहेन : ओली
फरकधार / २५ बैशाख, २०७९

एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसमाथि खनिएका छन् । कांग्रेस लामो समय सरकारमा रहँदा पनि देश र जनताका लागि केही गर्न नसकेको उनको आरोप छ । 



आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेस अहिलेसम्म २७ वर्ष सरकारमा रहेको बताए । कांग्रेसले २० वर्ष आफ्नै नेतृत्वमा एकल सरकार चलाएको बेला पनि जनताका लागि केही गर्न नसकेको उनको आरोप छ । 

‘२० वर्ष एकल सरकार चलायो । सात वर्ष संयुक्त सरकार चलाउँदा पनि केही गर्न सकेन,’ ओलीले भने । कांग्रेस कमजोर तत्वहरूलाई लिएर देशलाई उल्टो बाटोमा हिँडाएको उनको आरोप छ ।



‘सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्‍यो,’ ओलीले भने ।



नेपाली कांग्रेसको सुविधामा आधारित परराष्ट्र नीतिले राष्ट्रियतामा कुठाराघात भएको छ । विगतमा राणा, राजा र कांग्रेसको सरकारले जनताको लागि कुनै योजना अघि नबढाएको उनको आरोप छ । 

स्वर्ग जस्तो देशलाई विकास गर्नुभन्दा कांग्रेसले संसारकै गरिब देश बनाएको उनको आरोप छ । कांग्रेसले एमालेसँग कहिल्यै सहकार्य गर्न नचाहेको उनको आरोप छ । ‘कांग्रेस बरु राणासँग घाँटी जोड्न तयार भयो । दक्षिणपन्थीहरूसँग घाँटी जोडेर सरकार चलाइरहेको छ । उसलाई लज्जाबोध हुँदैन । तर, हामी जनताभन्दा ठूला कोही छैन भन्नेमा हुन्छौं तसर्थ, हामी जनताको बीचमा रहन्छौं,’ ओलीले भने । 

कांग्रेसको आन्तरिक घेराबन्दीसँगै नाकाबन्दीको पनि सामना गरेर एमाले सरकार अघि बढेको उनले दाबी गरे । कांग्रेसले जनादेशमाथि कुठाराघात गरेको समेत उनले आरोप लगाए । ‘कांग्रेसले जनमतको आधारमा भन्दा पनि जनादेशको अपमान गरिरहेको छ । त्यस्तै अब कम्तीमा दुई अवधि पाँचपाँच वर्ष एमालेलाई विजयी गराई देशमा स्थिरता र स्थायित्व गराउन हार्दिक अनुरोध गर्दछु,’ ओलीले भने ।  

  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १२:१०:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया