अब पुरानै लयमा फर्कन सक्ला म्याचेस्टर युनाइटेड ?

म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग ४–० को फराकिलो हार बेहोर्ला भनेर समर्थकले कल्पनासमेत गरेका थिएनन् । तर, प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा युनाइटेडले नसोचेकै प्रदर्शन गर्‍यो ।  

म्यानचेस्टरको फराकिलो जितपछि समर्थक भनिरहेका छन्, ‘अहिलेका खेलाडी क्लबको जर्सी लगाउन योग्य नै छैनन् ।’ कुनै समय क्लबका लागि मरिमेट्ने समर्थक गएरातिको प्रदर्शनले निकै आक्रोशित र निराश छन् । निराश हुनु पनि स्वभाविक हो । ब्राइटले आफ्नो घरेलु मैदानमा २०२२ मा एक खेल पनि जितेको थिएन । उसले युनाइटेड जस्तो चर्चित टोलीलाई हराउँदै हलचल मचाएको छ ।   

उसले द अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा म्यानचेस्टरलाई लज्जित बनायो । ब्राइटनले म्यानचेस्टरलाई खुलेर खेल्नै दिएन । शानदार जित निकाल्दैसँगै उसले सबैलाई प्रश्न गर्न बाध्य बनाएको छ । म्यानचेस्टरमा के भइरहेको छ? 

कीर्तिमानी २० पटकको इंग्लिस च्याम्पियन म्यानचेस्टरविरुद्ध ब्राइटनले यसअघि २७ खेल खेलेकोमा मात्र तीन जित हात पारेको थियो । यसपटकको जित चौथो तथा विशेष रह्यो । यो जितपछि ब्राइटनले क्लबको १२१ बर्से लामो इतिहासमा पहिलोपटक माथिल्लो डिभिजनको शीर्ष १० आफूलाई कायम राख्न सक्ने सम्भावना बनेको छ । 

ओले गनर सेल्सारलाई बर्खास्त गरेयता निमित्त व्यवस्थापक बनेका राल्फ राङनिकका लागि पछिल्लो ६ महिना वास्तवमै निकै खराब रहे । उनीबाट टोलीले सोचेजस्तो उपलब्धि हासिल गर्न सकेन । त्यस अर्थमा उनको ओल्ड ट्राफोर्ड बसाइ सम्झनलायक रहन सकेन । 

जर्मन प्रशिक्षक राङनिकले ब्राइटनविरुद्धको खेल गुमाएपछि प्रतिक्रिया दिएका छन्, ‘आज म्यानचेस्टरको प्रदर्शन वास्तवमै खराब रह्यो । खेल अवधिभर हाम्रा खेलाडीले खेल्नै सकेनन् । खेल्ने प्रयास पनि गरेननभन्दा हुन्छ । ब्राइटनको आक्रमणलाई रोक्नै सकिएन । यो हार वास्तवमै लज्जास्पद थियो, त्यसैले हामीले आफ्नो समर्थकसामु माफी माग्नुपर्छ ।’
 
अब म्यानचेस्टरले अर्को सिजनको युरोपा लिग खेल्नेछ भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । खाली यति भन्न सकिन्छ, म्यानचेस्टरले युरोपेली क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता युरोपा कन्फ्रेन्स लिग भने खेल्नेछ ।



अर्को सिजन म्यानचेस्टरमा प्रशिक्षकको जिम्मेवारी डच प्रशिक्षक एरिक टेन हागले सम्हाल्नेछन्  । तर, उनी आउनेबित्तिकै राम्रो हुनेछ भनेर विश्वास गरिहाल्ने अवस्था पनि छैन । किनभने एलेक्स फर्गुसनले संन्यास लिएयता म्यानचेस्टरमा धेरै नाम चलेका प्रशिक्षक आए अनि गए । समर्थकलाई लाग्न थालेको छ, ‘म्यानचेस्टरलाई अब ब्यूँझाउन गाह्रो छ ।’ त्यसको अर्थ टेन हागलाई पनि अहिलेको यो म्यानचेस्टरलाई पुरानै लय र सफलतामा फर्काउन निकै गाह्रो हुनेछ ।



  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १३:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया