गाउँ पसेका नेतासँग जनताका गुनासै गुनासा : भोट माग्न आउँछन्, अरू बेला मुख देखाउँदैन

देशभर चुनावी सरगर्मी बढेको छ । भोट माग्न र प्रचारप्रसार गर्न उम्मेदवार जनताको घरदैलोमा छन् ।

भोट माग्न व्यस्त उम्मेदवारलाई घाम, पानी, धुलो-धुवाँ केहीको वास्ता छैन । बास नै गाउँघरतिर सारे जसैगरी उम्मेदवार पालैपालो मतदाताको दैलोमा पुग्छन् । नमस्कार गर्छन्, 'भोट हाम्रो पार्टीलाई दिनु' भन्दै फर्किन्छन् ।

तर, मकवानपुरको बागमती गाउँपालिका जनता भने नेता र कार्यकर्ताको हुल देखेर वाक्क दिक्क छन् । बागमती- ८ दमाईखोलाका ७१ वर्षीय इमानसिंह थिङलाई हुलका हुल नेता-कार्यकर्ता देखेर रिस उठ्ने बताउँछन् । अरू बेला जनताको अवस्था कस्तो छ, कुन ठाउँमा विकास खाँचो छ भन्ने चासो नराख्ने नेताहरू भोट माग्न मात्रै गाउँ पस्दा उनलाई दिक्दार लाग्छ ।

'अरू बेलामा गाउँको बाटो बिर्सिनेहरू चुनाव आएपछि फर्किने गरेका छन् । दिनमै थुप्रै हुल भोट माग्न आउँछन् । यो गर्छु त्यो गर्छु भन्छन्, गर्ने केही होइन', थिङ गुनासो गर्छन् ।

सोही गाउँकी ४८ वर्षीय सन्तमाया थिङ पनि नेताहरू देखेर दिक्क छिन् । गाउँमा जटिल समस्याका रूपमा रहेको खानी व्यवस्थापन गर्ने अघिल्लोपल्ट वाचा गरेर गएका नेताहरू फर्केर नआएको उनले गुनासो गरिन् ।

एक गाग्रो पानी लिन एक घण्टा हिँड्नुपर्ने समस्या जस्ताको तस्तै रहेको उनको भनाइ छ । एक गाग्री पानी लिन ठोटरी खोला धाउनुपर्छ । घरबाट जाँदा-आउँदा एक घण्टा लाग्ने उनले सुनाइन् ।



उनले अरू विकास त त्यस्तै हो पानीको धारा आउला र पानी खेप्नुपर्ने समस्याबाट मुक्ति पाउँला भन्ने आसमा अघिल्लो स्थानीय तहको निर्वाचनमा मतदान गरिन् । तर, यहाँको समस्या जस्ताको तस्तै रहेको उनी बताउँछिन् ।

‘दिनमा चार गाग्रो पानी चाहिन्छ, वस्तुभाउ र मान्छेलाई गरेर, पानी बोक्दैमा दिन बित्छ,’ सन्‍तमायाले भन्छिन्, ‘दुई पटक भोट हालिसक्यौं । भोट माग्न आउँदा आँगनमा धारो ल्याइदिन्छौँ भन्छन् । चुनाव जितेपछि कोही फर्केर आउँदैनन् ।’



सोही ठाउँका इन्द्रबहादुर मोक्तानको गुनासो पनि उस्तै छ । ठोटरी खोलामा पुल नबस्दा यहाँका जनताले साह्रै समस्या भोग्ने गरेको उनी बताउँछन् । पुल नबनेकै कारण उनले उब्जाएको तरकारी बारीमै कुहिने गरेको बताउँछन् ।

‘उम्मेदवार खोली तरेपछि लौरो बिर्सिने भनेजस्तै छन् । जहिल्यै अनेकथरी आश्वासन देखाउने, यो गर्छु, यसो गर्छु भन्छन् । गर्ने केही होइन । मैले पटक-पटक माग गरेको अनुदान नपाउँदा दुःख लागेको छ,’ उनले भने ।

आफू एक कृषक उद्यमी रहेको जानकारी दिँदै मोक्तानले भने, ‘मैले अहिलेदेखि नै भन्ने गरेको छु । अब आउने नेताले सिँचाइ, बाटो, पुल र अधुरो काम पूरा गर्न अनुरोध गर्छु । कृषिमा अनुदान पनि पाए हुन्थ्यो भन्ने लागेको छ । अहिलेसम्म प्रोत्साहनमा केही पाएकै छैन ।’

गाउँघरमा जनप्रतिनिधि नपुग्ने र आफूलाई खाँचो पर्दा मात्रै जनतालाई सम्झने गरेको स्थानीयको आरोप छ । विकास शहर केन्द्रीत भएको उनीहरू गुनासो गर्छन् । विकटका नागरिक न्यूनतम सुविधासमेत प्राप्त गर्न नसकेको गुनासो गर्छन् ।

त्यसो त अब एकपटक मौका दिएर राम्रा मान्छेलाई जिताएर विकास होला कि भन्ने आस उनीहरूमा मरेको छैन । राम्रा उम्मेदवारलाई मौका दिनलाई मतदानमा सहभागी हुने बागमतीका स्थानीयले बताए ।

बागमती गाउँपालिकाका निर्वतमान अध्यक्ष सर्केश घलान आफ्नो अपूरा कामहरू पूरा गर्न आफूले उम्मेदवारी रहेको बताउँछन् । विकासको सुरुवात भएको तर पूरा गर्न बाँकी रहेको उनको भनाइ छ ।

यता, आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्ष पदको उम्मेदवार खेम जर्गामगर आफूले जिते बागमती गाउँपालिकालाई समृद्ध बनाउन लागि पर्ने बताउँछन् ।

उक्त गाउँपालिकामा अध्यक्ष पदका लागि एमालेका तर्फबाट जर्गामगर उम्मेदवार छन् भने सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका घलानको उम्मेदवारी रहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएर अध्यक्ष बनेका घलान दोहोरिने दाउमा छन् ।

  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार २०:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया