कांग्रेस प्रवक्ता भन्छन्– ओली सरकारमा भए नेपाल श्रीलंकाको बाटोमा हुन्थ्यो, अहिले अनुदानमय छ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले ओलीको पालामा ऋणमय बनेको देश अब विस्तारै अनुदानमय बन्न लागेको बताए । 

‘ओलीको पालामा देश ऋणमय भयो । ऋण बढ्याबढै । त्यो ऋण कस्तो ठाउँमा प्रयोग भयो भने अनुत्पादक क्षेत्रमा,’ महतले भने, ‘१९ अर्ब त उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर विश्व बैंक लगायतबाट ऋण लिएर सबै आफ्नो मान्छेहरू, कार्यकर्ताहरूलाई बाँड्नुभयो । त्यसले स्वरोजगार सिर्जना गर्‍यो न रोजगार ।’ 

ओलीले ऋण लिएर घ्यू खाने काम गरेको उनको आरोप छ । ‘ऋण लिएर घ्यू खाने भन्छन् त्यही काम गरे,’ महतले भने, ‘घ्यू खाए पनि सबै जनताले पाउने गरी दिएको भए त ल दियो भन्न हुन्थ्यो केही सिमित व्यक्तिहरूले घ्यू खाए, त्यो पनि ऋण लिएर ।’

ओलीले अहिले पनि सरकारको नेतृत्व गरिराखेको भए देश श्रीलंकाको बाटोमा गइसकेको हुने उनको भनाइ छ । ‘ओली जी भइराखेको भए देश श्रीलंकाको बाटोतर्फ उन्मुख हुन्थ्यो । ऋणमाथि ऋण लिने । त्यसमा ठूलो कमिसनको खेल,’ उनले भने, ‘हामीले अब ऋणलाई प्राथमिकतामा नराख्ने, लिनै पर्ने भयो भनेपनि धेरै उत्पादनशिल क्षेत्रमा, त्यो पनि न्यून ब्याजदरमा । शून्य ब्याजदर, ०.५ प्रतिशत ब्याजदर । विश्व बैंक, एडीबीले सहुलियतदरको ऋण दिन्छ, त्यस्तो लिने ।’

वर्तमान सरकारले ऋण लिनै परेको खण्डमा सहुलियत दरमा मात्रै लिने गरेको उनको भनाइ छ । ‘कमर्सियल रेटमा ऋण लिने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने, अनि त्यहाँको लागत बढाइराख्ने, त्यसवाफत कमिसन खाइराख्ने, अनि कहिल्यै तिर्न नसक्ने गरी श्रीलंकाको बाटोमा पुर्‍याउने दुष्चक्र थियो,’ उनले भने ।  

अहिले ऋणमयबाट मुक्त देश अनुदानमय भइरहेको उनको भनाइ छ । ‘झण्डै ६० अर्ब हामीले एमसीसी अन्तर्गत अनुदान पाएका छौं । तत्कालै फेरि अमेरिकाले ८० अर्ब अनुदान दिने सम्झौता भइसकेको छ । जम्माजम्मी १४० अर्ब अनुदान अमेरिकाले दिन लागेको छ । यत्रो ठूलो अनुदान नेपालको इतिहासमा एकै पटक आको छैन,’ महतले भने ।    





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १२:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया