नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी सञ्चारकर्मी सुनिता डंगोलको चर्चा अहिले काठमाडौंमा धेरै नै छ । महिला उम्मेदवार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उम्मेदवारी पर्नुले पनि उनीप्रति धेरैको चासो देखिएको हुनसक्छ ।
काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिनुअघि उनले स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा दाबेदारी प्रस्तुत गरेकी थिइन् । त्यसले पनि उनको चर्चा चुलिएको थियो । पछि एकाएक एमालेबाट टिकट पाउनुले उनको चर्चा झनै बढ्यो । त्यसो भनिरहँदा राजनीतिमा आउनुपूर्व पनि उनी चर्चामा नै थिइन् ।
मिस नेवा २०११ की विजेता भएर पनि उनले चर्चा बटुलेकी थिइन् । साथै सञ्चारकर्मबाट पनि उनले आफ्नो चर्चा कमाएकी थिइन् । उनको परिचय यतिमा मात्रै सिमित छैन । अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन लागि परेकी युवा हुन् ।
उनले नेपालको संस्कृतिलाई विशवमाझ चिनाउने किसिमका कार्यक्रम गर्दै आएकी छन् । उनको चर्चा अहिले फेरि बढेको छ । उनी नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा दाबेदार छिन् ।
अहिलेको स्थितिमा हरेक पार्टीका लागि बलियो र मुख्य प्रतिद्वन्दी पार्टी एमालेको तर्फबाट देशको राजधानीमा रहेको महानगरपालिकाको उपमेयरमा युवालाई विश्वास गरेर पार्टीले उपप्रमुख जस्तो पदको टिकट दिनुले पनि उनलाई धेरैले चासोसँग हेरेका छन् ।
नेकपा एमालेको तर्फबाट महानगरको मेयरमा भने पूर्व मेयर तथा एमालेका नेता केशव स्थापितले उम्मेदवारी दिएका छन् । नेकपा एमालेले महानगरमा जितेको खण्डमा युवापुस्ता र अग्रज पुस्ताहरुबीचको कम्यूनिकेशन मिलाउने कुरामा चुनौती छ । त्यसलाई स्थापित र डंगोलले कसरी समन्वय गर्नेछन् भन्ने कुरा यदी जितेको खण्डमा भविष्यमा देखिने नै छ ।
डंगोल आफैँ पनि आफ्नो पक्षमा स्पष्ट जितका लागि चाहिने भोट आउनेमा विश्वस्त छिन् । घरदैलो कार्यक्रममा जाँदा राम्रो प्रतिक्रिया आइरहेको बताउँछिन् । उनले भनिन्, ‘अहिले घरदैलो कार्यक्रमहरु भइरहेको छ । काठमाडौंको जुन कुनै ठाउँमा गए पनि राम्रो रेस्पोन्सहरु आइरहेको छ ।’
काठमाडौं महानगरवासीहरुले महिला उपप्रमुखको रुपमा आफूलाई जिताएर महिला हक हितका कुराहरुलाई बचाउने छन् भन्ने उनको विश्वास छ । उनले आफू उपमेयर बनिसकेपछि काठमाडौंमा रहेका सांस्कृतिक सम्पदाहरुको पुनः निर्माणलाई पूरा गर्ने र संस्कृतिहरु नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने कुरामा काम गर्ने बताइन् ।
काठमाडौं देशको राजधानी भएकोले यहाँको पूर्वाधारमा विकास गर्नु आवश्यक रहेको उनको बुझाइ छ । काठमाडौंको चिनारी यहाँको भाषा, कला, संस्कृति, जात्रा र पर्व आदि कुराहरुमा अडिएकोले यसलाई संरक्षण गर्न सके मात्रै काठमाडौंलाई काठमाडौंजस्तो बनाउन सकिने बताइन् ।
उनले काठमाडौंलाई अन्य शहरसँग तुलना गर्न जरुरी नरहेको भन्दै साँच्चीकै कान्तिपुर नगरी बनाउन काठमाडौंलाई पुनर्निर्माण गरेर यहाँ रहेका मूर्त, अमूर्त सम्पदाहरुलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताइन् ।
काठमाडौंमा रहेको बहाःबहीः मासिँदै गएकोले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । बहाःबहीःको संरक्षणका लागि अब संवर्द्धन समिति बनाइनु पर्ने बताइन् ।
उनले काठमाडौं उपत्यकाभित्र ४ वटा विश्व सम्पदा सूचीमा सूचीकृत भएका स्थानहरु रहेको र त्योबाहेक पनि अन्य सांस्कृतिक सम्पदाहरु रहेकोले बाँकी सम्पदालाई पनि राष्ट्रिय सम्पदाको रुपमा सूचीकृत गर्नुपर्ने बताइन् ।
कार्यक्रम मञ्चहरुलाई थप बिस्तार गरेर काठमाडौं महानगरपालिकाले यहाँको संस्कृति, गीत, संगीतका कार्यक्रम आयोजना गरे यसको संवर्द्धन हुने उनको भनाइ छ ।
उपमेयरकी दाबेदार डंगोलले आफू महानगरपालिकाको उपमेयर बनेपछि महानगरीय संग्रहालय बनाउने र त्यसमा काठमाडौंका मौलिकता झल्किने कुराहरुलाई राख्ने बताइन् ।
उनले यहाँको भाषा, रीतिरिवाज, संस्कृति, भेषभुषालगायतका काठमाडौंका मौलिकता झल्किने कुराहरु संग्रहालयमा राख्दा काठमाडौंको बारेमा बुझ्न चाहनेका लागि सहज हुने उल्लेख गरिन् ।
उनले उपमेयर बनेपछि यहाँको स्थानीय भाषालाई जोड दिने पनि योजना सुनाइन् । यी सबै काम गर्नका लागि भावनासँगै नीति, नियम र योजनाको खाँचो रहेको र त्यसलाई स्थानीय सरकारको रुपमा महानगरले गर्न सक्ने स्पष्ट पारिन् ।
उनले अहिले बाध्यताले नेपाली युवाहरु विदेशीन बाध्य भइरहेको बताउँदै महानरगमा जितेपछि आफूले महानगरभित्र नै उच्च रोजगारीका कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाइन् ।
उनले पहिलो प्राथमिकतामा आफूले काम गर्ने ठाउँमा योजना बनाउन र कस्तो रणनीतिका साथ शहरको विकास गर्ने भन्ने कुरा युवाहरुको सोचका आधारमा नै हुने दाबी गरिन् ।
उनले युवाहरुलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न तीनै तहका सरकारहरु मिलेर काम गर्नुपर्ने भन्दै यहाँ रोजगारी सिर्जना गर्न इनोभेसन हब र सेन्टरहरु स्थापना गर्नुपर्ने बताइन् । अहिले धेरै युवाहरुले रुचाएको क्षेत्र आईटी भएकोले त्यसलाई महानगरपालिकाले स्थानीय सरकार बनेर सघाउनु पर्नेमा उनको जोड दिइन ।
उनले आफ्नो जितपछि महानगरमा स्टार्टअप कम्पनीहरु, आईटी बेस र अरु बेस कम्पनीहरुलाई स्थानीय सरकारको तवरबाट इन्करेज गर्ने काम गर्ने बताइन् । यस्ता कामले देशको अर्थतन्त्र र रोजगारी सिर्जना हुने तथा युवा शक्ति विदेश पलायन नहुने उनको बुझाइ छ ।
उनले आफू उपमेयर बनेपछि काठमाडौंलाई डिजिटल काठमाडौं बनाउने उद्घोष गरिन् । उनले काठमाडौं चलाउने सिस्टम बडी नै डिजिटल हुन आवश्यक रहेको बताइन् ।
उपमेयरकी उम्मेदवार डंगोलले आफूसँग केएमसी एपको अवधारणा रहेको र त्यसमा काठमाडौंभित्र भएका नीति, नियमसहित के गर्ने भन्ने सबै किसिमका तरिकाहरु राखिने भएकोले त्यसलाई हरेक मोबाइल डिभाइसमा उपलब्ध गराएर अनलाइनबाट नै हरेक काम गर्नेसक्ने व्यवस्था मिलाउने जनाइन् ।
उनले इगभर्मेण्ट्सबाट अहिले भइरहेको समस्या समाधान गर्नेमा जोड दिने बताइन् । उनले काठमाडौंलाई स्मार्ट सिटी बनाउने योजनाअनुरुप जिआईए सिस्टमको विकास गर्ने र त्यसमा काठमाडौंमा भएका घरका बारेमा जानकारी डेटाबेसमा ल्याइ सहज र विश्वासिलो बनाउने बताइन् ।
उपमेयरकी उम्मेदवार डंगोलले आफू उपमेयर भएपछि महिलाहरुको आवश्यकताको आवाज बनेर काम गर्ने बताइन् । उनले हरेक काममा महिलालाई अघि सारेर समस्या आउनुपूर्व नै हल हुने गरी काम गर्ने दाबी गरिन् ।
उनले महिलाहरुलाई रोजगारीमूलक कार्यक्रम, फाइनान्सियल लिट्रेसी प्रोग्राम, महिलाहरुलाई परेका कुनै पनि समस्या स्थानीय सरकारबाट नै हल गर्ने व्यवस्थाका लागि वुमेन सेल स्थापना गर्ने घोषणा गरिन् ।
उनले महिलालाई राति हिँड्न समस्या भइरहेकोले अब पूरा काठमाडौंलाई झलमल्ल बनाउने र महिलालाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था गर्ने बताइन् । उनले आफू महानगरको प्रतिनिधिमा चुनिएपछि महिलाका लागि काम भएको महशुस दिलाउने तरिकाले काम गर्ने उल्लेख गरिन् ।
उनले काठमाडौंवासीलाई सहुलियत सेवा प्रदान गर्न केएमसी कार्ड दिने योजना रहेको पनि जानकारी गराइन् । काठमाडौंका स्थानीयहरुलाई सहुलियत कार्यक्रमहरु ल्याउने आफ्नो योजना रहेको बताइन् । उनले आफू प्रतिनिधि बनेपछि युवासँगै रहेर काम गर्ने र युवासँगै काठमाडौंको विकास गर्ने लक्ष्य रहेको सुनाइन् ।
उनले युवाको जोश र जाँगरलाई सही प्रयोग गर्नको लागि म्युजिक, लिट्रेचर आर्ट्समा पनि हामीले प्रमोट गर्ने योजना रहेको बताइन् ।
उपमेयरकी प्रत्यासी डंगोलले काठमाडौंलाई रिभाइभ कल्चरल हब बनाउने क्रममा सांस्कृतिक कार्यक्रमहरु गर्ने, काठमाडौंका कथाहरुलाई नाटकसँग जोडर देखाउने कुरामा पनि त्यत्तिकै जोड दिने बताइन् ।
उनले सांस्कृतिक कार्यक्रमहरुले पर्यटनलाई पनि टेवा पुर्याउने बताइन् । उनले युवाहरुलाई जोडिरहनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्ने र खेलाडीहरुको उत्पादनमा पनि जोड दिने योजना रहेको बताइन् ।
‘हामी काठमाडौंवासीका लागि केएमसी कार्ड दिनेछौँ । जसले विभिन्न सेवाहरुमा सहुलियत दिनेछ । बस चढ्दादेखि सहुलियत पाउँछ । यस्तै सहुलियतका कार्यक्रमहरु ल्याउनेछौँ । केएमसी कार्ड काठमाडौंका भोटर्सले, वासीले मात्र पाउनेछन् । अब काठमाडौं महानगरपालिका र युवासँगै काम गर्छ । सँगै काठमाडौंलाई बनाउने काम गर्छ' उनले भनिन् ।
नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी सुनितालाई जित, युवा नेतृत्वलाई वहन गर्ने क्षमताको सदुपयोग र महिला हक अधिकारको लागि लड्ने चुनौती र काम गरेर देखाउने अवसर छ ।
उनलाई युवा पुस्ता र त्यसमाथि पनि महिलाले नेतृत्व लिन सक्छ भन्ने प्रमाणित गर्नु महत्वपूर्ण कुरा हुनेछ । जितेपछि उनका सामु साथै युवा पुस्ताले गरेका वाचाहरु कार्यान्वयनमा कति आउँछन्, गरेका प्रतिवद्धतालाई पूरा गर्छन् वा पुरानै जनप्रतिनिधिहरु जस्तै बेकाम भएर बस्छन् त्यसको छिनाफानो पनि हुनेछ ।
पछिल्लो समय राजनीतिककर्मीहरुले चुनावताका आम नागरिकलाई गरेका प्रतिवद्धता पूरा गर्न नसक्दा आम नागरिकहरुले नेतृत्व वर्गलाई हेर्ने दृष्टिकोण नै फेरिन थालेको छ ।
नेताहरुको कुरामा अधिकांशले विश्वास गर्न छोडेका छन् । यसलाई चिरेर नयाँ पुस्ताले विकासलाई सार्थक बनाउन सक्छ भन्ने कुराको प्रमाणित गर्नु डंगोलका लागि चुनौतीको विषय हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।