जनकपुरधाम निर्वाचन : 'हेवी वेट' उम्मेदवारको आक्रामक प्रचार, समर्थन न्यून

स्थानीय तहको निर्वाचन हुन ४ दिन मात्रै बाँकी छ । चुनावी प्रचारप्रसारको समय भोलि सकिँदै छ । मत हाल्ने दिन नजिकिएसँगै जनकपुरधाम उपमहानगरपालिकाका मतदाता उपयुक्त उम्मेदवारको खोजीमा छन् ।

यता, मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारले ठूलो रकम खर्च गरेर तामझामका साथ प्रचारप्रसार तथा घरदैलो गरिरहेका छन् ।

निर्वाचनको प्रचारप्रसार प्रसारमा भारतीय सवारीदेखि अटो, र मोटरसाइकल र्‍याली हुने गरेका छन् । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै तामझामका साथ प्रचारप्रसार गरिरहेका उम्मेदवारप्रति आयोग निरीह भएको स्थानीयको आरोप छ ।

यद्यपि, 'हेवी वेट' उम्मेदवारले ठूलै रकम खर्चिएर आक्रामक रूपमा प्रचारप्रसार गरेको देखिन्छ । हेवी वेट उम्मेदवार बलराम महतो, शिवशंकर साह हीरा, लालकिशोर साह, मनोज चौधरी लगायतले आक्रामक रूपमा चुनावी प्रचारप्रसार गरिरहेको देखिन्छ ।

तर, उनीहरूको समर्थनमा भने न्यून सहभागिता देखिएको छ । बुद्धिजीवीहरूको रोजाइमा भने रकम खर्चिएर भीड जम्मा गर्नेभन्दा पनि शालीन रूपमा प्रचारप्रसारमा लागेका उम्मेदवार पर्ने सम्भावना छ ।



सचेत बन्दै मतदाता



जनकपुरधाममा अघिल्लो निर्वाचनभन्दा यो पटक मतदाता पनि सचेत भएको देखिन्छ । मतदाताहरू दबाब दिने दलहरूप्रति आक्रोशसमेत व्यक्त गर्न थालेका छन् ।

जसपाका नेताहरूले आन्तरिक रूपमा यादव र मुस्लिम समुदायमा निवर्तमान मेयर लालकिशोरलाई मतदान गर्न दबाब दिएपछि त्यसविरुद्ध मतदाताहरूले विद्रोह र आक्रोश व्यक्त गर्न थालेका हुन् ।

कनकपट्टीका एक मतदाताले भने, ‘लालकिशोरले गत निर्वाचनमा हामीलाई भ्रममा राखेका थिए । हामीले उनलाई देखिसकेका छौं । अब कसैले जनताले मन नपराएको उम्मेदवारलाई मत हाल भनेर भन्यो भने उनले आफ्नो समर्थन पनि गुमाउँछन् । हामीले उनलाई मत दिएका छौं । आफूलाई बन्धकी राखेका छैनौँ ।’

अफ्ठ्यारोमा निधि

यता, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि निकै अप्ठ्यारोमा परेका छन् । स्वतन्त्र उम्मेदवार मनोज साह र उनका समर्थकहरू उनलाई निधिको उम्मेदवार भनी प्रचार गरिरहेका छन् तर आम मतदातामा यसको प्रभाव परेको देखिँदैन ।

साहको जनकपुरधामको दक्षिणी ग्रामीण क्षेत्रमा केही प्रभाव रहे पनि शहरमा भने उनको खासै प्रभाव नदेखिएको आंकलन गरिएको छ ।

निधिले खुलेर साहलाई समर्थन गरिरहेका छैन । साहले 'जिते मेरो, हारे स्वतन्त्र' भन्ने दाउमा निधि रहेको एक जना कांग्रेसी नेताले बताए । उनले निधि साहको पक्षमा खुलेर लागे पार्टीबाट निष्कासित हुन सक्ने दाबी गरे ।

अहिले कांग्रेसभित्र देखापरिरहेको अन्तर्कलहले यो सम्भव पनि हुन सक्ने देखिन्छ । गठबन्धनको राजनीतिले कांग्रेसलाई भित्रभित्रै विभाजित पारिदिएको स्थानीय एक बुज्रुक बताउँछन् ।

आचारसंहिता उल्लंघनले स्थानीयलाई कष्ट

स्थानीय निर्वाचनमा आचारसंहिताको खुला उल्लंघनले नगरवासी कष्टमा परेका छन् । अघिल्लो चुनावको तुलनामा यसपालि आचारसंहिताको उल्लंघन धेरै बढेको छ ।

नगरभित्र कुनै पर्खालको भित्ता बाँकी छैनन् । सबैलाई सफाइ र रंगरोगनको चिन्ताले पिरोलेको छ । डिजेको आवाजले गर्दा सामान्य नागरिक बेचैन छन् ।

‘यिनीहरूले गर्ने केही होइनन्, हामीलाई बिनासित्ती बिरामी बनाइरहेका छन् । प्रशासन कारबाही गर्नुको सट्टा कानमा तेल हालेर बसिरहेको छ,' स्थानीय एक बुद्धिजीवीले भने ।

मधेस आन्दोलनका अगुवा पूर्वे एक्लै प्रचारमा

जनकपुरधाम वा भनौँ मधेश आन्दोलनमा लागेका लागि दिनेश पूर्वे परिचित नाम हो । पूर्वेलाई जनकपुरधाममा मधेश आन्दोलनलाई उचाइमा पुर्याउने व्यक्तिको रुपमा चिनिन्छ । २०६२/०६३ सालमा तत्कालीन मधेशी जनाअधिकार फोरम नेपालको अगुवाइमा भएको मधेश आन्दोलनमा उनी फोरम धनुषाका उपाध्यक्ष थिए ।

तर, अहिले उनी कुनै पनि दलमा आवद्ध छैनन् । स्थानीय तहको निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकामा दर्जनौँ उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् । दर्जनौँ उम्मेदवारहरूको भीडमा पूर्वले समेत जनकपुरधामको नगरप्रमुख पदका लागि उम्मेदवारी दिएका छन् ।

नगरप्रमुखमा उम्मेदवारी दिए पनि जनकपुरधाम नगरभित्र उनको न कुनै पर्चा टाँसिएको छ, न कहीँ अन्य उम्मेदवारहरूले जस्तै बोर्डहरु टाँगिएको छ । उनी आफ्नो उम्मेदवारीको प्रचारप्रसारका लागि एक्लै होमिएका छन् ।

आफ्नो उम्मेदवारीको विषयमा जनकपुरधामका मतदातालाई बुझाउन, आफ्नो रंगशाला निर्माण अभियानलाई स्थापित गराउनका लागि साइकलमा ठूलो ब्यानर लगाएर एक्लै नगर भरी घुमी रहेको पूर्वेले बताए ।

आफूलाई उम्मेदवारी दर्तामा लाग्ने शुल्कका साथै साइकलमा ठूलो ब्यानर लगाउनका लागि पनि ऋण लिनुपरेको बताए । उनले भने, ‘घरमा खानका लागि पर्याप्त चामल छैन तर जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउने मेरो धोकोले मलाई उम्मेदवारी दिन उत्प्रेरित गर्यो ।’

'मसँग ठूलो भीड त छैन तर हरेक जनकपुरधामवासीको हृदयमा मेरो लागि सम्मान छ, यो नै मेरो लागि ठूलो जित हो, पूर्वेले भने, ‘मेरो उम्मेदवारी जनकपुरधामको हरेक नागरिकको तर्फबाट परेको छ, हरेक जनकपुरधामवासीले मसँगै उम्मेदवारी दिएका छन्, म उनीहरूको प्रतिनिधित्व मात्रै गरिरहेको छु ।’

  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १९:०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया