वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन नजिकिएसँगै लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ गरीएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै लमजुङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याउने भएको हो ।
निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन वैशाख २७ देखि प्रशासनले उक्त एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याउने भएको हो । जसअनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउन लमजुङमा दुई हजारभन्दा बढी सुरक्षाकर्मीको टोली परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान आयोग र म्यादी प्रहरीको उक्त संयुक्त टोलीले जिल्लाभर रहेका १२३ मतदानस्थलको १८२ मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
सुरक्षाकर्मीको उक्त संयुक्त टोलीले मतदान केन्द्रको सुरक्षाका साथै संवेदनशील भनी पहिचान गरिएका क्षेत्रमा आवश्यक निगरानी र कडाइ समेत गर्नेछन्। त्यसका लागि निर्वाचन सेल र कमाण्ड पोस्ट समेत गठन गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।