बुमराहको घातक बलिङका बाबजुद मुम्बई पराजित, कोलकाताको प्लेअफ सम्भावना कायमै

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध मुम्बई इण्डियन्स ५२ रनले पराजित भएको छ । गएराति सम्पन्न खेलमा कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७.३ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।

उसका लागि इशान किशनले ४३ बलमा चार चौका र एक छक्कासहित ५१ रन बनाए । किरण पोलार्ड १५, टिम डेविड १३ र रमनदीप सिंह १२ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

केकेआरका लागि प्याट कमिन्सले तीन, आन्द्रे रसेलले दुई, वरुण चक्रवर्ती र टिम साउदीले एक/एक विकेट हात पारे । केकेआरले तीन विकेट भने रन आउटको रूपमा प्राप्त गर्यो । त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनायो ।

उसका लागि वैंकटेश अय्यर, नितिश राणाले ४३/४३ र रिंकु सिंहले अविजित २३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । मुम्बईका लागि जसप्रित बुमराहले ४ ओभरमा एक मेडनसहित १० रन दिएर महत्वपूर्ण पाँच विकेट लिए ।

आइपिएलमा बुमराहको यो हालसम्मकै उत्कृष्ट स्पेल हो । यसअघि आइपिएलमा उनको उत्कृष्ट बलिङ १४ रन दिएर ४ विकेट लिनु थियो । यो जितसँगै कोलकाताले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ । उसले १२ खेलमा सातमा हार र पाँच खेलमा जित हात पारेको छ । प्लेअफ पुग्न कोलकाताले अब बाँकी दुई खेलमा लगातार जितका साथै अन्य टिमको नतिजा पनि हेर्नुपर्नेछ । 

मुम्बई भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ । उसले ११ म्याच खेल्दा ९ मा हार र दुई खेलमा मात्र जित हात पारेको छ । कोलकाता जितका साथ तालिकाको सातौंमा उक्लिँदा मुम्बई भने पुछारमा छ ।  





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार ६:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया