[अन्तर्वार्ता] ‘गठबन्धनसँग कुनै प्रतिस्पर्धा छैन, विजयी हुनेमा ढुक्क छु’

स्थानीय तहको निर्वाचनको प्रचार गर्ने आज अन्तिम दिन । उम्मेदवार आफ्नो पक्षमा मत ल्याउनका लागि अन्तिम कसरतमा छन् । कैलालीको गोदावरीमा गठबन्धन दल र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । गोदावरीमा गठबन्धनबाट कांग्रेसका वीरेन्द्र भट्ट र एमालेका गोकर्ण भट्ट चुनावी प्रतिस्पर्धामा छन् । भट्ट एमाले सचिव लेखराज भट्टका भाइसमेत हुन् । गत निर्वाचनमा एमाले उम्मेदवारसँग पराजित भएका उनी यसपालि भने एमालेबाटै चुनाव लड्दैछन् । प्रस्तुत छ तिनै मेयरका प्रत्यासी भट्टसँग फरकधारकर्मी कैलाश जोशीले गरेको कुराकानीको सम्पादित अंश :

गत निर्वाचनमा माओवादीबाट उम्मेदवार हुनुहुन्थ्यो, यसपालि एमालेबाट चुनावी मैदानमा हुनुहुन्छ, के एजेण्डाका साथै प्रतिस्पर्धामा हुनुहुन्छ? 

समग्र गोदावरीको विकासका लागि उम्मेदवारी दिएको छु । यसका साथै सुशासन र पारदर्शी ढंगले काम गर्न पनि उम्मेदवारी हो । स्थानीय सरकारले गरेका काम र योजनाको बारेमा जनतालाई जानकारी दिनुका साथै समृद्धि विकासका लागि मेरो उम्मेदवारी छ । विपन्न परिवारको गाँसबास, कपास उपलब्ध गराउने हो । जनताका आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि मेरो उम्मेदवारी रहेको छ । अहिलेसम्म राज्यले पछाडि पारेको समुदायलाई माथि उठाउने तरिकाले मैले प्रमुख एजेण्डा बनाएको छु । अधिकार नपाएका नागरिकहरूलाई अधिकार दिने, शिक्षा, स्वास्थ्य, खानेपानी सबैको घर–घरमा पुर्याउने मेरा एजेण्डा रहेका छन् ।

यहाँको जनताको मुख्य माग र गोदावरीका प्रमुख समस्या के हुन्? 

जनताको आवश्कता भनेको त शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो हो । गोदावरीमा धेरै समस्या छन् । समग्रमा शहरलाई नै व्यवस्थित र विकसित बनाउनुपर्छ । गोदावरीमा खानेपानीको मुख्य समस्या छ । पक्की सडक निर्माण सबै वडामा पुग्न सकेका छैनन् । यसलाई प्रमुख प्राथमिकता दिन आवश्यक छ । 

गोदावरीमा छाडा पशु चौपाया पनि प्रमुख समस्याका रूपमा देखा परेको छ, यसलाई व्यवस्थित गर्न के छ योजना? 



छाडा पशु व्यवस्थापनका लागि एक वडामा एक गौशाला निर्माण गर्ने मैले आफ्नो घोषणा पत्रमा पनि राखेको छु । छाडा चौपायाको वैज्ञानिक तरिकाले व्यवस्थापन गरिन्छ ।
  
गत निर्वाचनमा पनि हार्नुभयो, यसपालि जित्न सफल हुनुहोला? के छन् आधार?  

गाउँमा जाँदा नेकपा एमालेप्रति देखिएको जनलहरले नै प्रमाणित गरेको छ । गोदावरीको विकासका लागि गोकर्ण भट्टले मात्र विकास गर्न सक्छ भन्ने जनतामा भान भएको छ । अर्को कुरा मैले कुनै प्रकारको सेवा सुविधा समेत नलिने घोषणा गरेको छु । पार्टीको सम्पूर्ण शक्ति चुनावी मैदानमा होमिएको छ । यो नै मेरो जित्ने आधार हुन् ।



गठबन्धनका उम्मेदवारसँग भिड्दै हुनुहुन्छ, आफू चुनाव जित्ने सम्भावना कति देख्नुहुन्छ?
 
मेरो प्रतिस्पर्धाको कुरा गर्दा कुनै दलसँग छैन । गठबन्धनका दलसँग प्रतिस्पर्धा हुने कुरै भएन । एमालेप्रतिको जनलहरले आफूहरूलाई विजयी हुन झन् सहज हुनेछ । हाम्रो पार्टी एमाले गोदावरीमा सबैभन्दा ठूलो पार्टी हो । एमालेसँग सबैभन्दा बढी मतदाता छन् । हामीसँग त्यस्तो धेरै प्रतिस्पर्धा कसैको हुने देख्दैन । मलाई पैसा कमाउनु छैन म सेवा गर्नका लागि मेयर बन्न लागेको हुँ ।

विजयी हुनेमा ढुक्क छु । नेकपा एमालेप्रति जुन आकर्षण छ । त्यसले गर्दा जित सुनिश्चित छ । सम्पूर्ण पार्टी पंक्ति प्रचारमा छ । कुनै गुट उपगुटरहित पार्टी भएको हुँदा एमालेको गोदावरीमा जित हुनेमा ढुक्क छु ।

यसअघिका जनप्रतिनिधिले गरेको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ? 

पाँच वर्षको कामकारबाही सन्तोषजनक छन् । कोरोनाका कारण केही गर्न नसकेको काम छन् । चाहेर पनि काम गर्न नसकेको अवस्था देखिन्छ । अधुरा कामलाई पूरा गर्नेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।

  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १२:४८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया