[अन्तर्वार्ता] ‘गोदावरीमा मलाई हराउने कुनैसँग शक्ति छैन, गौरव गर्नलायक नगरपालिका बनाउनेछु’

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार र दलहरू अन्तिम प्रचारमा छन् । मतदाता रिझाउनका लागि उम्मेदवार बिहानदेखि साँझसम्म मतदाताको घरदैलोमै छन् । कैलालीको गोदावरी नगरपालिकामा पनि चुनावी रौनक व्यापक छ । नेकपा एमालेका सचिव लेखराज भट्टको निर्वाचन क्षेत्र भएकाले पनि गोदावरीमा चुनावी माहोल तातेको हो । यसपालि यहाँ गठबन्धन भर्सेस एमाले हुने सम्भावना छ । गठबन्धनबाट नेपाली कांग्रेसका नेता वीरेन्द्र भट्ट चुनावी मैदानमा छन् । उनले यसपटक एमाले उम्मेदवार गोकर्ण भट्टसँग प्रतिस्पर्धा गर्दैछन् । गत निर्वाचनमा एमाले उम्मेदवारसँग पराजित भएका वीरेन्द्र यसपटक भने जनताले आफूलाई साथ दिने दाबी गर्छन् । साथै, गठबन्धनको साथ रहेकाले पनि यसपालि नगरपालिकाको नेतृत्वमा पुग्ने उनको दाबी छ । प्रस्तुत छ गठबन्धनका मेयर उम्मेदवार भट्टसँग फरकधारकर्मी कैलाश जोशीले गरेको कुराकानीको सम्पादित अंश :

लगातार दोस्रोपटक चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, यसपालि के एजेण्डाका साथ मैदानमा हुनुहुन्छ? 

०७४ सालमा जितेका प्रतिनिधिहरुले यस क्षेत्रको विकास, जनताको आयस्रोत हुने खालका कार्यक्रम सञ्चालन गर्न सकेनन् । यहाँको विकासमा परिवर्तन र जनस्तरमा सुधार गर्नुका साथै गोदावरीको समग्र विकासका लागि मेरो उम्मेदवारी हो । स्थानीय चुनाव भनेको कुनै राज्यसत्ता परिवर्तन गर्नको लागि होइन ।  

समग्र गोदावरीको विकासका लागि हामी लागिपर्ने छौँ । विकासको मोडालिटी बनाउँछौं । कम्तीमा पनि हामी गोदावरीवासी गौरव गर्न लायकको अनुभूति गराउने छौँ । गोदावरीको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने छौँ । यस क्षेत्रमा पर्यटकीय एवं धार्मिक क्षेत्रलाई विकास गर्नेछौं । महिला, बालबालिका, अपाङ्गता, असहाय, युवाको हकमा हामीसँग लक्षित कार्यक्रम छन् । हामी त्यहीअनुसार काम गर्नेछौँ । हामीले नगरलाई समृद्ध नगरपालिका बनाउने प्रयत्न रहने छ ।

जित्नु होला त यसपालि? के छन् आधार?

गोदावरीमा सबैभन्दा पहिलो जित्ने आधार कांग्रेस एक ढिक्का भएको छ । एक साथ एक स्वर प्रचारमा जुटेका छौँ । त्यस्तै, गठबन्धनसमेत भएको हुँदा गोदावरीमा कांग्रेसलाई पराजय गराउने कुनैसँग शक्ति छैन ।



०७४ मा पार्टीभित्रकै आन्तरिक विवादले पराजित हुनुभयो भन्ने हल्ला छ, यसपालि पनि कांग्रेसभित्रै किचलो छ भनिन्छ । हल्ला मात्र होकि यथार्थ नै हो?  

गोदावरी कांग्रेस कहिले पनि कमजोर छैन । हुन पनि दिने छैन । केही आन्तरिक कारणले भन्नुपर्छ, ०७४ को निर्वाचनमा त्यो पनि झिनो मतले पराजय भएँ । अहिले धेरै कुरा छन् । गोदावरी कांग्रेसको सम्पूर्ण शक्ति एक भएर प्रचारमा लागि परेको छ । पार्टीभित्र कुनै विवाद छैन ।



अघिल्लोपटक एमालेले जितेको थियो, तपाइँको मूल्याङ्कनमा उसले पहिलो कार्यकालमा गरेको कामप्रति धारणा के हो? 

पाँच वर्षमा गोदावरी नगरपालिकाले गरेका कामकारबाही कांग्रेस सन्तुष्ट छैन । एमालेले पहिलो कार्यकालमा जनताको पक्षमा काम गर्न सकेन । आवश्यकताभन्दा बढी पहुँचका आधारमा विकासका योजनाहरू अगाडि बढे । यसले गर्दा जनतामा स्थानीय सरकारप्रति नै वितृष्णा बढेको छ ।

निर्वाचनमा लडेर जितिसकेपछि उहाँले समग्र गोदावरी नगरवासीको मेयर बन्न सक्नुपथ्र्यो । तर, अहिलेका मेयरले त्यो गर्न सक्नु भएन । अहिले देशभरिमै सबैभन्दा बढी भ्रष्टाचारमा मुछिएको नगरपालिका गोदावरी बनेको छ । यसमा आठ/दश जना कर्मचारी पनि परेका छन् । कारिन्दाको रूपमा कर्मचारी काम गर्ने भएको कारणले कसुर नगरेका कर्मचारी पनि त्यसमा फसेका पनि छन् ।

अहिले नगरपालिका सिस्टममा चलेको छैन । वर्तमान मेयर आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै अगाडि बढे । यस क्षेत्रको विकासका लागि लागेको भए आज यो अवस्था आउने थिएन । दाबीका साथ भन्छु हामी योभन्दा धेरै राम्रो काम गर्नेछौं । कांग्रेसले जितेमा भ्रष्टचारको अन्त्य हुनेछ । भ्रष्टाचारमुक्त नगर बनाउने हाम्रो मुख्य ध्येय छ । सुशासनयुक्त नगरपालिका बनाउँछौं । शासकको रूपमा होइन जनताको सेवक भएर काम गर्नेछु ।

  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १४:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया