ओलीको गृह जिल्लामा एमालेलाई विरासत जोगाउन चुनौती, सत्ता गठबन्धनभित्र असन्तुष्टि

शुक्रबार हुने स्थानीय तहको निर्वाचनअन्तर्गत मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी छ । मौन अवधि सुरु हुनै लाग्दा दल र उम्मेदवारले आक्रामकरूपमा प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

झापाका पनि राजनीतिक दल र उम्मेदवारहरू चुनावी अभियानमा व्यस्त छन् । झापा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको गृह जिल्ला र निर्वाचन क्षेत्रसमेत हो ।

त्यस्तै, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला पनि झापा नै हो । त्यसैले राष्ट्रिय राजनीतिमा सबैको ध्यान झापामा खिचिएको छ । यसपालि पनि झापामा हुने निर्वाचनको परिणामलाई सबैले चासोका साथ हेरेका छन् । 

सत्ता गठबन्धनमा गृह जिल्लामा एमालेलाई पराजित गरेर ओलीलाई कमजोर सावित गर्न भरमग्दुर प्रयास भइरहेको छ । निर्वाचन एमालेका लागि भने प्रतिष्ठाको विषय बनेको छ । 

सत्ता गठबन्धनमा आवद्ध दल र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि आफ्नो प्रभाव विस्तार गर्नु चुनौतीको विषय बनेको छ । त्यसो त २०७४ सालको निर्वाचनमा प्रतिष्पर्धा गरेका झापाका प्रमुख राजनीतिक दलहरूमध्ये कांग्रेसबाहेक अहिले कोही पनि सग्लो छैनन् । त्यसकारण यसपटकको निर्वाचन रोचक हुने देखिएको छ । 

०७४ सालको निर्वाचनमा झापामा एमाले पहिलो,  कांग्रेस दोस्रो र राप्रपा तेस्रो शक्ति बनेका थिए । सो निर्वाचनमा नेकपा माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा निकै कमजोर देखियो । यद्यपि अहिले राप्रपा पनि विभाजित अवस्थामा छ । तर, विभाजनको असर भने न्यून रहेको राप्रपाका नेताहरूको दाबी छ । 



अन्य ठाउँमा जस्तै  झापामा पनि सत्ता गठबन्धनले चुनावी तालमेल गरेको छ । ओलीको गृहनगर दमकमा सत्ता गठबन्धनले राप्रपालाई सघाउने गरी चुनावी तालमेल गरेको हो । राप्रपाको बलियो पकड रहेको कचनकवलमा भने राप्रपाविरुद्ध सत्ता गठबन्धनको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तालमेल गरेका छन् । 

झापाका सत्ता गठबन्धनबीच नै एकता छैन । १५ पालिकामध्ये दमकमा राप्रापालाई सघाएको कांग्रेसले बाँकी १४ वटै पालिका प्रमुखमा उम्मेदवारी दिएको छ । सत्ता गठबन्धन दलहरूबीच समझदारी बनेर त्यसो गरिएको कांग्रेस नेताहरुले दाबी गरे पनि गठबन्धनआवद्ध अन्य दल रुष्ट छन् । गठबन्धनभित्रै असन्तुष्टि बढ्दा त्यसको फाइदा एमालेले लिन सक्छ ।



१५ वटा स्थानीय तह र १३१ वडा रहेको झापामा ०७४ को निर्वाचनमा एमालेले सात, कांग्रेसले पाँच र राप्रपाले तीन स्थानीय तहको प्रमुख जितेका थिए । त्यस्तै, एमालेले १२ पालिकाका उपप्रमुख, कांग्रेसले दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा स्थानीय तहको उपप्रमुख जितेका थिए । माओवादी केन्द्र भने एक स्थानीय तहमा पनि विजयी हुन सकेन । 

झापाका कुल १३१ वडामध्ये एमालेले ७९, कांग्रेसले ३८, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात र मओवादी केन्द्रले ६ वडा जितेका थिए । सो निर्वाचन परिणामअनुसार एमाले सबैभन्दा बलियो अवस्थामा छ । माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा कमजोर अवस्थामा देखिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा विजयी झापाका प्रमुख चार दलमध्ये यतिबेला कांग्रेसबाहेक कुनै पनि सग्लो छैनन् । एमाले र राप्रपा विभाजित अवस्थामा छन् । 

सत्ता गठबन्धनको घटकमध्ये एक माओवादी केन्द्रका धेरै नेताकार्यकर्ता आफूहरूसँगै समाहित भएको एमालेको दाबी छ । केही महिनाअघि मात्र एमाले अध्यक्ष ओली आफैँ झापा पुगेर माओवादीका प्रभावशाली नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका थिए । 

आगामी निर्वाचनमा एमाले आफ्नो विरासत जोगाउने रणनीतिसहित चुनावी मैदानमा छ । सत्ता गठबन्धनमा आवद्ध दलहरू कसरी एमालेको बर्चस्व भत्काउन सकिन्छ भन्ने ध्याउन्नमा छन् ।

प्रतिष्ठाको विषय भएकाले ओली आफ्नो गृह जिल्लामा निकै दौडधूप गरिरहेका छन् । एमाले झापाका अध्यक्ष दीपक कार्की ०७४ सालको निर्वाचनभन्दा अहिले पार्टी झन् बलियो अवस्थामा रहेको दाबी गर्छन् । ‘अलिकति लोभि पापी मात्र पार्टीबाट चोइटिएर गएका हुन् । कम्युनिष्ट आन्दोलन समाप्त बनाउनका लागि पार्टी विभाजन गरिएको महसुस गरेपछि भुलभुलैयामा पर्नुभएका अधिकांश साथीहरू पनि फर्किइसक्नुभएको छ । हामीसँग अत्यधिक संख्यामा माओवादीका नेता कार्यकर्ता समाहित हुनुभएको छ । कांग्रेस र अरू पार्टीबाट पनि धेरै संख्यामा पार्टी प्रवेश भएको छ,’ कार्कीले फरकधारसँग भने,‘हामी पहिलेभन्दा अहिले अझ बलियो अवस्थामा छौँ । अहिले एकदमै सुदृढ भएका छौँ । हामी अझ धेरै पालिका र वडाहरू हामी जित्दैछौँ ।’ 

उनले एमालेविरुद्ध गठबन्धन गरे पनि आफूहरूलाई कुनै असर नपर्ने दाबी पनि गरे । ‘हामीसँग एक्ला–एक्लै लड्ने तागत कसैसँग नभएर नै गठबन्धन गरेका हुन्,’ उनले भने, ‘झापामा यसपटक हाम्रो पक्षमा अघिल्लो पटकभन्दा राम्रो नतिजा आउने निश्चित छ ।’ 

यता सत्ता गठबन्धनको कांग्रेसले पनि यसपटक झापाका सबै पालिकामा गठबन्धनले जित्ने दाबी गरेको छ । ‘झापाका १३ पालिकामा आंशिक र दुईवटामा स्वस्थ प्रतिष्पर्धा छ,’ कांग्रेस झापाका सभापति देउमान थेबे भन्छन्, ‘यसपटक हामी सतप्रतिशत पालिका जित्छौँ ।’ 

यता एमालेबाट फुटेर बनेको नेकपा (एस) का अध्यक्ष बेदराज रेग्मी भने गठबन्धन शतप्रतिशत कार्यान्वयन हुँदा समेत सवै ठाउँमा एमालेलाई पराजित गर्न नसकिने स्वीकार गर्छन् । ‘गठबन्धनमै अलिकति समस्या देखियो । गठबन्धनको कांग्रेस र माओवादीले हामीलाई पाखा लगाए,’ उनले फरकधारसँग भने, ‘झापामा एमाले निकै बलियो अवस्थामा छ । यसो हेर्दा गठबन्धनको राम्रो देखिएपनि सबै ठाउँमा जितिन्छ भन्ने अवस्था छैन ।’

अघिल्लो निर्वाचनमा आधादर्जन वडा मात्र जितेको माओवादी भने गठबन्धनको आडमा सिट संख्या बढाउने दाउमा छ । तर, झापामा प्रभावशाली नेता नै एमालेमा प्रवेश गरिसकेकाले माओवादी तितरवितरको अवस्थामा छ । अर्कोतिर गठबन्धनभित्रै ठूलो खटपट उसका लागि चुनौतीको विषय छ । जसले गर्दा आफ्नो प्रभाव विस्तार गर्ने माओवादी केन्द्रको चाहनामा धक्का लाग्ने निश्चित छ । तर, माओवादी झापाका अध्यक्ष राजु आचार्य गठबन्धन भएका सबै पालिकामा जितिने दाबी गर्छन् । उनले पहिलेको भन्दा यसपटक माओवादी केन्द्रले पालिकासहित धेरै वडाहरू जित्ने दाबी गरे । 

पाँच दलीय गठबन्धनसँग मिलेर ओलीलाई गृह नगरमा चुनौती दिएको राप्रपा भने अरू सबैतिर एक्लै निर्वाचन लडेको छ । अघिल्लो निर्वाचनमा तेस्रो शक्ति बनेको राप्रपा यसपटक त्यसभन्दा बढी नतिजाको खोजीमा छ । ‘हामी दमकबाहेक सबैतिर एक्लै लडेका छौँ । पहिले पनि तीनवटा पालिका जितेका थियौँ,’ उनले  भने, ‘यसपटक देशभरि हाम्रो पक्षमा जनलहर रहेकाले अझ धेरै पालिका जित्नेमा ढुक्क छौँ ।’ 

  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १६:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया