कैलाली मतदानस्थलमा तथा मतदान केन्द्रबाट नयाँ मतदाताको परिचयपत्र वितरण धमाधम भइरहेको छ ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम भइरहेको जानकारी दिए । परिचयपत्र वितरणका साथै मतदान केन्द्र तयारीसमेत भइरहेको छ ।
जिल्लाका अधिकांश विद्यालयका भवनलाई मतदानस्थल र केन्द्र तोकिएको छ । जिल्लाका १३ पालिका तहमा कूल पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन् । पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा चार लाख तीन हजार २८० मतदाता थिए ।
जिल्लाको दक्षिणपूर्वी सीमा क्षेत्रको जानकी गाउँपालिकाका निर्वाचन अधिकृत विश्वदीप बेश्राले निर्वाचनस्थलमा तयारी पूरा हुने चरणमा रहेको बताए । तयारीका क्रममा निर्वाचनस्थलमा भएको सर्वदलीय बैठकमा मौन अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता, मतगणना कार्य र मतगणना प्रतिनिधिको नामावली लगायतका विषयमासमेत छलफल गरिएको बेश्राले बताए ।
निर्वाचन गराउन जिल्लाका सबै १३ पालिकामा झण्डै तीन हजार ९ सय कर्मचारी परिचालन गरिएको छ । यी पालिका तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । ५२ मतदानस्थललाई अति संवेदनशील, ५३ मतदानस्थललाई संवेदनशील र बाँकी १३१ मतदानस्थललाई सामान्य मतदानस्थलको सूचीमा राखेर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गरिएको छ ।
जिल्लाका पालिका तहका ६५६ पदका लागि चुनाव हुँदैछ । यसका लागि जिल्लाभरी तीन हजार ७२ जना प्रतिस्पर्धी छन् । मतदानको ४८ घण्टा अघि अर्थात् मंगलबार रातिदेखि नै गौरीफन्टा, खक्रौला लगायतका सीमा नाकामा आवागमन बन्द गरिएको छ । अत्यावश्यक सेवा प्रवाहको हकमा भने सीमा नाकामा आवागमन गर्न बाधा अवरोध नपुग्ने जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।