स्थानीय तहको निर्वाचन भोलि हुँदैछ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ, सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् । मतदानका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।
प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका हुन् । मौन अवधिमा मतदाता प्रभावित पार्न उनी सक्रिय देखिन्छन् । मौन अवधिकाबीच उनी आज माडी जाँदै छन् । उनले भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गर्ने छन् ।
पाँच दलीय गठबन्धनबाट मेयरमा दाहालको उम्मेदवारी छ । मेयर उमेदवार स्वयं उनले पनि पुलिस स्कुलबाट मतदान गर्ने माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीले जानकारी दिए ।
‘दुवै जनाले पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्दै हुनुहुन्छ । कतिबेला गर्ने भनेर समय भने तय भइसकेको छैन,’ उनले भने । नेकपा (एमाले) का मेयरका उमेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन् । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ सात हजार ५६ जना मतदाता छन् ।
सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ । कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।
विवेकशील साझाका मेयरका उमेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभूत विद्यालयबाट मतदान गर्दैछन् । भोलि बिहान ८ बजेभित्र मतदान गरिसक्ने योजना रहेको उनले जानकारी दिए । बाल मन्दिरमा चार वटा मतदान केन्द्र छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।