स्थानीय तह निर्वाचन : दुई दिनमा झण्डै डेढ लाखले छोडे काठमाडौं उपत्यका

स्थानीय तहको निर्वाचन हुनका लागि १ दिन बाँकी छ । निर्वाचनमा सहभागी हुन सहरबाट गाउँ जानेको घुइँचो लागेको छ । त्यस्तै देशको केन्द्रीय राजधानीसमेत रहेको काठमाडौं उपत्यकाबाट बाहिरिनेको क्रम पनि जारी छ ।

कतिपय दलहरूले गाडी पठाएर जनतालाई ओसारेका छन् भने कति  आफ्नै खुसीले उपत्यका छाडेर आ-आफ्नो स्थानीय तहमा जाँदै छन् । मौन अवधिको दुई दिनमा मात्रै झण्डै १ लाख ४३ हजार जनाले काठमाडौं उपत्यका छोडेका छन् । 

मौन अवधि सुरुदेखि बिहीबार बिहानसम्मको अवधिमा काठमाडौं उपत्यकाबाट १८ हजार सवारीसाधनमार्फत १ लाख ४२ हजार ७४१ जना मतदाताले उपत्यका छाडेको ट्राफिक प्रहरीले जनाएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ८३ हजार ६६० जना यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिनेको संख्या भने न्यून रहेको छ । त्यो अवधिमा ३५ हजार ६५७ जना यात्रु भने काठमाडौं भित्रिएका छन् । 

यसअघि २७ वैशाखमा ५९ हजार ८१ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए । त्यो अवधिमा भने ४२ हजार ८३२ जना काठमाडौं उपत्यका भित्रिएका थिए । २६ वैशाखमा ५० हजार ९३० जना यात्रु बाहिरिएका थिए । त्यस्तै २५ वैशाखमा ५५ हजार ७४६ जना यात्रुले काठमाडौं छोडेका थिए । 

मतदानको दिन पासबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्यसैले बिहीबार रातिसम्म पनि यात्रुहरू काठमाडौंबाट बाहिरिने क्रम जारी रहने ट्राफिक प्रहरीले जनाएको छ ।  



शुक्रबार देशभर एकै साथ ५५३ स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना सहभागी हुँदै छन् । मतदानका लागि १० हजार ७ सय ५६ मतदान केन्द्र र २१ हजार ९ सय ५५ मतदानस्थल बनाइएको निर्वाचन आयोगले जनाएको छ ।
 



  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १३:३५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया