मकवानपुरमा सबै मतदान केन्द्रभित्र क्यामेरा र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइने भएको छ । मतदान केन्द्रभित्र खटिएका प्रतिनिधि र मतदातासमेतले मोबाइल प्रयोग गर्न नपाउने मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरेका मतदातालाई मतदान केन्द्रमै प्रवेश नदिइने भएको छ । मतदाताले मदिरा पिए/नपिएको भनेर प्रहरीले ब्रेथलाइजरको प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
आयोगले मतदान केन्द्रमा निषेधित गतिविधि भए कारबाही गर्ने चेतावनीसमेत दिएको छ । भोलि (शुक्रबार) मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा उम्मेदवारका एकजना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमति पाएका पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत तथा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति मतदान स्थलमा प्रवेश गर्न पाउनेछन् ।
यस्तै, महिला मतदाताको साथमा पाँच वर्षसम्मका बालक, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि आएका एका घरका परिवारलाई मात्र प्रवेश गर्न दिने आयोगले स्मरण गराएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।