यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका
लुम्बिनीमै दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय वार्ता हुने
फरकधार / २९ बैशाख, २०७९
फाइल तस्वीर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । 



मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । 

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको हो । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणमा लुम्बिनी भ्रमणमा आउन लागेका हुन् । 



लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 



दुवै देशका प्रधानमन्त्रीले लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा प्रार्थना गर्ने कार्यक्रम पनि रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा नै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

लुम्बिनीमा नै दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका सबै आयामहरूमा छलफल हुने परराष्ट्रले जनाएको छ । 

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीबाट सोही दिन स्वदेश फर्कने छन् । 

  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १६:७:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया