पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतपत्रमा स्वस्तिक छाप लगाएको तस्बिर सार्वजनिक गरेपछि अहिले उनको आलोचना भइरहेको छ ।
स्वस्तिक छाप लगाएको तस्बिर सार्वजनिकपछि सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको हो । भट्टराईले गोरखाको अन्नपूर्ण माविमा आज बिहान मतदान गरेका थिए ।
निर्वाचन आयोगका अनुसार गोप्य मतदान गर्नुपर्नेमा फोटो सार्वजनिक गर्नु निर्वाचन आचारसंहिता उल्लंघन मानिन्छ । यसरी तस्बिर सार्वजनिक गरेमा निर्वाचन अधिकृतले १५ हजार सम्म जरिवाना गर्नसक्ने व्यवस्था छ । तर, बाबुरामले भने सुझबुझका साथ नै यसो गरेको बताउँछन् ।
‘मतदान भनेको लोकतान्त्रिक पद्धति हो । यसमा लुकाउनु पर्ने कुनै कुरा छैन । अरूलाई प्रभावित पो पार्नुहुन्न तर आफूले राजिखुशीका साथ मतदान गरेको कुरा कुनै अपराध गरेझैँ गरी लुकाउनुपर्छ भन्ने मलाई लाग्दैन,’ बाबुरामले भने, ‘आफू सुरुदेखि नै खुल्ला मतदानको पक्षपाती रहेको तर्क गरे । ‘म सुरुदेखि नै खुल्लमखुल्ला हात ठड्याएर मतदान गर्नुपर्छ भन्ने मान्यताको मान्छे हुँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।