विवादका कारण स्थगित बझाङको ६ मतदानस्थलमा पुनः मतदान हुने

बझाङको तीन पालिकामा पुनः मतदान हुने भएको छ । शुक्रबार मतदानको क्रममा विवाद उत्पन्न भएपछि जिल्लाको तीन पालिकाको ६ वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको हो । 

शुक्रवार जयपृथ्वी नगरपालिका–७ को सुनिपिपल चौर मावि चौपाख्या ‘क’ र ‘ख’ मतदान केन्द्र, केदारस्यूँ गाउँपालिका–४ सन्स्युुमा रहेको ‘क’ र ‘ख’ मतदान केन्द्र र सुर्मा गाउँपालिका–३ र २ को मतदान केन्द्रमा फेरि मतदान हुने भएको हो । 

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार शनिबार मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले जयपृथ्वी नगरपालिकामा स्थगित मतदान सुनिपिपल मावि केन्द्रमा १ जेठमा पुनः मतदान गर्ने निर्णय गरेको छ ।

ढुंगामुढा, हुलदंगासहित मतपेटिका फुटाएपछि मतदान अर्को सूचना नहुँदासम्मका लागि सो केन्द्रमा मतदान स्थगित गरिएको थियो । त्यस्तै, केदारस्युँ गाउँपालिका–४ स्थित जगन्नाथ मावि ‘क’ र ‘ख’ केन्द्रमा विवाद भएका कारण स्थगित भएको निर्वाचन २ जेठमा गरिने निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

निर्वाचन कार्यालयका अनुसार सुर्मा गाउँपालिका–२ को आधाबगर मावि डोगडी र वडा नम्बर ३ को कृष्ण प्रावि मतदान केन्द्रमा पनि २ जेठमै पुनः मतदान हुनेछ । शनिबार साँझसम्म जिल्लाको आठ पालिकामा मतगणना जारी छ । जिल्लाको जयपृथ्वी नगरपालिका, छबिसपागिभेरा, केदारस्यूँ र सुर्मा गाउँपालिकाको मतगणना भने सुरु हुन सकेको छैन । जिल्लामा कुल १२ स्थानीय तह छन् ।  
 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १९:५०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया