कैलालीको १३ पालिकामा मतगणना जारी, कहाँ कुन पार्टीको अग्रता ?

कैलालीको १३ पालिकामध्ये चारमा नेपाली कांग्रेस,  तीनमा नागरिक उन्मुक्ति पार्टी, दुईमा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । एक स्थानीय तहमा स्वतन्त्र, एकमा नेकपा एमाले र एकमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । 

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखि नै अग्रता कायमै राखेका छन् । हमालले १३ सय ८६ मत पाएका छन् ।

२९ सय ५३ मत गणना हुँदा सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार नृपबहादुर वडले  ८ सय ०७ मत ल्याएका छन् । यस्तै, एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय ४३ मत प्राप्त गरेका छन् । 

जिल्लाको कैलारी गाउँपालिकामा कांग्रेसका उम्मेदवार राजसमझ चौधरी अगाडि छन् । उनी १ हजार २५४ मतका साथ अग्रस्थानमा रहेका हुन् । चौधरीलाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका होमबहादुर गुरुङले १ हजार ११५ मत ल्याएका छन् ।

जिल्लाको गोदावरी नगरपालिकामा कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन् । कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्टले २ हजार १४० र एमालेका गोकर्ण भट्टले १ हजार ५७४ मत पाएका छन् । 

गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार देवीदत्त कँडेल ५१५ मतका साथ अग्रस्थानमा छन् । कँडेललाई पछ्याइरहेका एमालेका पदमसिंह सिङालले ३२३ मत ल्याएका छन् । 



घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका खडकबहादुर रावत १ हजार ७०२ मतका साथ शीर्ष स्थानमा छन् । एमालेका ममताप्रसाद चौधरीले १ हजार २०५ मतका साथ रावतलाई पछ्याइरहेका छन् ।

चुरे गाउँपालिकामा एकीकृत समाजवादीका लोकबहादुर सारु १ हजार ३५६ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका चक्रबहादुर बोगटीले १ हजार १७१ मत ल्याएका छन् । जानकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार परशुराम महता अग्रस्थानमा छन् ।



जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चित्रबहादुर चौधरी अग्रस्थानमा छन् । चौधरीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले पछ्याइरहेका छन् । टीकापुर नगरपालिकामा पनि नागरिक उन्मुक्ति पार्टी उम्मेदवार रामलाल डगौरा थारू १ हजार ४९० मतका साथ अग्रस्थानमा छन् । 

उनलाई पछ्याइरहेका कांग्रेसका नवराज रावलले ७ सय ८१ मत ल्याएका छन् । बर्दगोरिया गाउँपालिकामा एमालेका उम्मेदवार कर्णबहादुर कुँवर अग्रस्थानमा छन् । उनलाई कांग्रेसका शेरबहादुर कठरियाले पछ्याइरहेका छन् । 

भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार केवल चौधरी ३४४ मतका शीर्ष स्थानमा छन् । उनलाई एमालेका हर्कबहादुर बुढाले ३११ मत ल्याएर पछ्याइरहेका छन । लम्कीचुहा नगरपालिकामा कांग्रेसका उम्मेदवार सुशीला शाही ७२१ मतका साथ अग्रस्थानमा छिन् । उनलाई पछ्याइरहेका एमालेका महादेव बजगाईँले ५२१ मत ल्याएका छन् । 
 

  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ९:५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया