भरतपुरमा मतगणना पुनः सुरु, आंशिक स्वस्तिक छाप बदर गर्ने सहमति

मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । 

मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर गर्ने सहमति भएको मतगणनास्थलमा रहेका एमाले प्रतिनिधि अश्विन घिमिरेले जानकारी दिए ।

मतगणनाको क्रममा एउटा मतपत्रमा स्वस्तिक छापको विषयमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको थियो । स्थगित भएको २५ मिनेटपछि मतगणना पुनः सुरू भएको घिमिरेले बताए । 

भरतपुर–२ को आठ स्थानमा मत गणना भइरहेको बेला विवाद भएपछि मतगणनास्थलमै सर्वदलीय बैठक बसेको हो ।  मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो ।

मतगणना अवरुद्ध हुनुअघि ५१ सय ७७ मत गणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १८ सय ६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै, विजय सुवेदीले १८ सय १४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ सय १९ मत पाएका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १६:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया