चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेदवार विजय सुवेदीले अग्रता लिएका छन् । ७४७७ मत गणना गर्दा सुवेदीले १४ मतले अग्रता लिएका हुन् ।
आइतबार राति १० बजेसम्मको सार्वजनिक मत परिणामअनुसार सुवेदीले २६९३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले २६७९ मत पाएकी छन् । आइतबार दिउँसोसम्म रेनु दाहाल झिनो मतले अगाडि रहेकोमा बेलुकी सुवेदीले मतान्तर घटाउँदै अग्रता कायम गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ८६३ मत पाएका छन् ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २९६५ मतका साथ अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेकी राप्रपा उमेदवार हिमला गुरूङले २१४४ मत पाएकी छन् ।
भरतपुरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन माओवादी उमेदवार रेनु दाहाललाई रहेको छ भने नेकपा एमालेका उमेदवार सुवेदीलाई राप्रपाको समर्थन प्राप्त छ ।
कुल २९ वटा वडा रहेको भरतपुरको वडा नं १ बाट गणना कार्य सुरू गरिएको थियो । भरतपुर महानगरपालिकामा रहेका कुल एक लाख ८५ हजार ७५२ मतदातामध्ये ६७ प्रतिशत अर्थात् एक लाख २५ हजार ५५० मत खसेको थियो ।
भरतपुर महानगरपालिकामा शनिबार दिउँसो १२ बजेदेखि मत गणना सुरू भएको हो । सुरूमा तीन ठाउँमा बसेर गणना गरिए पनि पछि चार ठाउँबाट गणना भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलका अनुसार एउटा समूहमा ६ जना कर्मचारी खटिएका छन् ।
मतगणना कार्य कछुवा गतिमा भइरहेको भन्दै चौतर्फी दबाब आइरहँदा निर्वाचन कार्यालयले भने शनिबार साँझदेखि गति लिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।