सुनकाे मूल्य : चार महिनामा ५५ हजारबाट कसरी पुग्यो ६० हजारमाथि ?

काठमाडौं– पछिल्ला केही हप्ता नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार गत भदौमा ५५ हजार ६ सय रहेको एक तोला छापावाल सुनको मूल्य २० पुसमा ६० हजार ३ सय पुगेको छ । 

सुनको मूल्य भदौदेखि निरन्तर बढेर ६० हजार पुगेको भने होइन । ८ कात्तिकमा एक तोला सुनको मूल्य ६० हजार ४ सय पुगेको थियो । त्यसपछि ओरालो लागेर १६ मंसिरमा ५७ हजार २ सय पुगेको सुनको मूल्य त्यसपछि फेरि उकालो लागेको हो ।

यसअघि, नयाँ आर्थिक वर्ष सुरु हुँदा प्रतितोला सुनको मूल्य ५७ हजार रुपैयाँ थियो । त्यतिवेला अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य घटिरहेको थियो । 

विशेषगरी, नेपालमा सुनको मूल्य डलरको सटही दर, अन्तर्राष्ट्रिय सेयर बजार र तेलको मूल्यसँग सम्बन्धित हुन्छ । 

डलरको मूल्य बढेको र सेयर बजार पनि बलियो हुँदै गएकाले सुनमाथि त्यसको प्रत्यक्ष असर देखिएको विश्लेषकहरु बताउँछन् । अर्काेतर्फ, सुनको मूल्यलाई प्रत्यक्ष असर गर्ने पेट्रोलियम पदार्थको मूल्यमा कमि आइरहेको थियो । त्यसले गर्दा पनि सुनको कारोबार कमजोर हुँदै गएको थियो । 

सुनको भाउमा अमेरिका र चीनको व्यापार युद्धका कारणले पनि असर गरेको थियो । यस्तै, अमेरिका र टर्कीको व्यापार युद्धको प्रभाव पनि नेपाली सुन बजारमा परेको देखिन्छ । व्यापार युद्धका कारण धेरै व्यापारीले डलरको जोहो गर्न पैसा खर्च गर्दा सुनको मूल्यमा कमी आएको थियो । 



त्यसैले, गत भदौमा प्रतितोला सुनको मूल्य ५५ हजार ६ सयमा झरेको थियो, जुन पछिल्लो ८ महिनाकै सबैभन्दा कम मूल्य हो । 

त्यसपछि भने सुनको भाउ बढ्न थाल्यो । असोजको पहिलो हप्ता प्रतितोला सुनको मूल्य ५८ हजार पुग्यो । यो वृद्धि कात्तिकसम्म जारी भयो । ८ कात्तिकमा एक तोला छापावाला सुनको मूल्य ६० हजार ४ सय २ रुपैयाँ पुग्यो । यो समय डलर कमजोर हुनु र अन्तर्राष्ट्रिय बजारमा सेयरको मूल्य तल झर्नुले सुनको भाउ बढाएको विश्लेषकहरुको बुझाइ छ । 



तर, यो वृद्धि लामो समय भने कायम भएन । मंसिरको पहिलो हप्ता सुनको मूल्य पुनः घटेर ५८ हजार ७ सयमा झर्यो । पछिल्लो तीन महिनामा मंसिर १४ गते सुनको मूल्य सबैभन्दा कम भएको थियो । सो दिन एक तोला सुनको मूल्य ५७ हजार २ सय थियो । 

त्यसपछि भने अहिलेसम्म सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । पछिल्लो महिना डलर र सेयर बजार निरन्तर ओलालो लागिरहेका छन् ।

उता, तेलको मूल्यमा पनि कमी आइरहँदा डलरको तुलनामा भारतीय रुपैयाँ बलियो भएका कारण सुनको मूल्यमा वृद्धि भएको जानकारहरु बताउँछन् । यसैको परिणामस्वरुप पुसको पहिलो हप्ता प्रतितोला सुनको मूल्य ५९ हजार ५ सय पुगेको थियो । 

२० पुसमा एक तोला सुनको मूल्य ६० हजार ३ सय पुगेको छ । भारुको तुलनामा डलर निरन्तर कमजोर भएकाले सुनको मूल्य उकालो लागेको विश्लेषकहरु बताउँछन् । 

  • प्रकाशित मिति : पुस २१, २०७५ शनिबार १९:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया