काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत अन्तिम चरणका खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको लिगको आफ्नो अन्तिम खेलमा दुवै टोलीले १/१ गोलको बराबरी खेलेका हुन् ।
खेलको १०औँ मिनेटमा अरुज सिंहले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर ३२औँ मिनेटमा च्यासलका छिरिङ गुरुङले पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे । पहिलो हाफ १/१ गोलमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन ।
जारी लिगमा १३ खेलबाट १५ अङ्क जोड्दै च्यासल अङ्क तालिकाको आठौँ स्थानमा छ भने जावलाखेलले १३ खेलबाट १३ अङ्क जोड्दै १०औँ स्थानमा छ ।
यसैबीच, आजै भएको दोस्रो खेलमा पनि विभागीय टिम पुलिस सरस्वती युथ क्लबसँगै बराबरीमा रोकिएको छ । हल्चोक मैदानमै भएको खेलमा सरस्वती र पुलिसले पनि १/१ गोलको बराबरी खेले ।
खेलको ४९औँ मिनेटमा भिक्टोरको पेनाल्टी गोलमार्फत सरस्वतीले अग्रता बनाएको थियो । पुलिसका खेलाडीले सरस्वतीका तीर्थ बस्नेतलाई डी बक्सभित्र लडाएपछि सरस्वतीले पेनाल्टीको अवसर पाएको थियो ।
५३औँ मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । नीरकुमार राईको पासलाई सदुपयोग गर्दै रवि पासवानले पुलिसका लागि बराबरी गोल गरेका थिए । बराबरीसँग पुलिसले १३ खेलबाट १९ अ्क जोड्दै तालिकाको छैटौँ स्थानमा यथावत् छ । सरस्वती १३ खेलबाट १४ अङ्कसहित तालिकाको नवौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।