जनमतको हिसाबले एमाले नै ठूलो पार्टी हो : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले पनि जनमतको हिसाबले नेकपा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यालय बल्खुमा आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा उनले यस्तो बताएका हुन् । 

पोखरेलले तत्कालीन राजनीतिमा मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको विरुद्धमा सम्पूर्ण लोतन्त्रका पक्षधरहरू एकजुट हुन आवश्यक रहेको पनि बताए । उनले स्थानीय तहको निर्वाचनमा एमालेको पक्षमा संख्यात्मक रूपमा कम जित आए पनि जनमतको आधारमा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरे ।

‘यतिबेला तत्कालीन राजनीतिमा देखा परेको मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको विरुद्धमा सम्पूर्ण लोकतन्त्रका पक्षधर संविधान र कानूनको पालना गर्नुपर्छ भनेर प्रतिवद्धता व्यक्त गरिरहेका जनताहरूको पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता छ । हामी संख्याको हिसाबले केही तलवितल हुनसक्ला तर जनमतको हिसाबले माथि नै छौँ,’ पोखरेलले भने, ‘एमालेको पक्षको जनमत पूर्व, पश्चिम, उत्तर, दक्षिणमा एमालेकै बढी जनमत छ । हामी त्यही जनमतको बलमा यो गठबन्धनकारीहरूले गरेका तमाम अपराधजन्य कुराहरूको सामना गर्नेछौँ ।’

उनले स्थानीय निर्वाचन बिथोल्न सरकार नै गुण्डागर्दी गरेर लागि परेको आरोप पनि लगाए । पोखरेलले सरकार पक्षले नै एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न लागि परेको र मतदातालाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताए ।

उनले सरकारी ढंगले एकलौटी रूपमा मतपेटिका ओसार्ने काम गरेको र केही स्थानमा मत गणनापूर्व नै मतपेटिका खोलेको पाइएको पनि बताए । ‘कतिपय ठाउँमा गुण्डागर्दी गरेर मतदाता फकाइने काम भयो । मतदाता कम आउने तर भोट धेरै आउने विचित्रको अवस्था पनि देखाप-यो । मतदानपछि स्वभाविकरूपमा लोकतान्त्रिक प्रक्रियामा मुचुल्का नगरिकन, सिलबन्दी गरिकन बाकससहित प्रतिनिधिहरू लैजान पाउने व्यवस्थालाई यसपटक पालना गरिएन । प्रशासनले एकलौटी ढंगले बाकस लिएन जाने काम भयो । कतिपय ठाउँमा मत गणनापूर्व बाकसको सील तोडेको पाइयो ।  सहज लोकतान्त्रिक प्रतिष्पर्धा हुँदा नेकपा एमाले अहिले पनि नेपालको सबैभन्दा ठूलो पार्टी हो भन्ने कुरामा कुनै सन्देह छैन, चुनावबाट प्रमाणित भएको छ,’ पोखरेलले भने ।  

उनले स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा एमालेका कार्यकर्तामाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरे । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १३:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया