एमालेले संसद अवरोधलाई निरन्तरता देला ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा अवरोध जारी राख्ने भएको छ ।

मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय नलिइसकेको बताए । 

उनले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिसकेको तर छलफलमा रहेको बताए । उपाध्यक्ष नेम्वाङले स्थानीय निर्वाचनको मत परिणाम आइरहेकाले त्यसलाई ध्यानमा राखेर नयाँ निर्णयमा पुग्ने बताए ।

‘हामी अहिले नयाँ निष्कर्षमा पुगिसकेका छैनौँ । तर हामी छलफलमा पनि छौँ । स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौँ । जनताले एउटा निस्कर्ष दिएका छन् त्यो निष्कर्षमा पूर्णता आउन बाँकी छ । यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौँ । तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ,’ उनले भने ।

उपाध्यक्ष नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्ल्याउने ढंगले काम गर्नु आश्चर्य भएको बताए । उनले सबै दलहरु मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभइ नेपालमा मात्रै भएको जिकिर गरे । उनले सबै दल मिलेर एमालेलाई घेराबन्दीमा पर्दासमेत अहिले आइरहेको मत परिणामले आफू उत्साहित भएको बताए ।

त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय निर्वाचनको नतिजा पार्टीले अपेक्षा गरेअनुसारको नभएको बताए । उनले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको आरोप लगाए ।



प्रमुख सचेतक भट्टराईले भने, ‘नेकपा एमालेले अपेक्षा गरेजस्तो परिणाम अलि आएको छैन । हाम्रोविरुद्धमा गठबन्धनको र राज्य संयन्त्रको चरम दुरुपयोग गरेर हामीविरुद्ध दुई वटा घेराबन्दी गरिएको थियो । त्यसबाबजुद पनि हाम्रो ठीकै रिजल्ट आइरहेको छ । त्यसको समीक्षा हुनेछ ।’

प्रमुख सचेतक भट्टराईले स्थानीय तह सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दुई किसिमका घेराबन्दी गर्दा पनि नतिजा राम्रो आइरहेको बताए । उनले स्थानीय तह सदस्य निर्वाचनको नतिजाबारेमा पार्टीले समीक्षा गर्ने पनि बताए ।



  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १४:१४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया