प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एमाले ‘क्लिन स्विप’ भएको छ ।
जिल्लामा कांग्रेस र माओवादी केन्द्रले एमालेलाई क्लिन स्विप नै गरेको हो । ०७४ को निर्वाचनमा दुई पालिका जितेको एमालेले यसपटक नेता कर्ण मल्ल नेतृत्वको काँग्रेस (बीपी) सँग तालमेल गरे पनि एक पालिका पनि जित्न सकेन ।
कांग्रेसले भने ०७४ सालमा परशुराम, गन्यापधुरा, भागेश्वर र आलिताल गरी चार पालिका जितेकोमा ०७९ मा पाँच पालिकामा जित हात पारेको छ । ०७४ मा जितेको उसले आलिताल भने यसपटक गुमाएको छ । ०७४ मा पराजित भएको नवदुर्गा र अमरगढीमा कांग्रेसले जित निकालेको छ । आलिताल र अजयमेरुमा माओवादी केन्द्रका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।
कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले केही व्यक्तिले विद्रोह गरे पनि ०७४ सालभन्दा कांग्रेस बलियो भएर आएको दाबी गरे । ‘०७४ सालमा नेपाली कांग्रेस चार पालिका र १७ वडामा मात्रै विजयी भएको थियो,’ साउँदले भने, ‘यसपटक पाँच पालिका र २९ वडामा जित भएको छ । अन्य ठाउँमा पनि झिनो मतान्तरले मात्रै पराजित भएका छौं । ०७४ सालको भन्दा धेरै राम्रो अवस्थामा पुगेका छौँ ।’
जिल्लामा रहेका ५२ वडामध्ये माओवादी केन्द्र १३, नेकपा एमाले ४, एकीकृत समाजवादी, कांग्रेस (बीपी) र स्वतन्त्र दुई–दुई वडामा विजयी भएका छन् । सत्तारुढ दलहरूबीच देशका विभिन्न जिल्लामा गठबन्धन भए पनि डडेल्धुरामा भने थिएन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।