कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय ‘हिमशिखर’ विजयी भएका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार दिउँसो सम्पन्न मतगणना अनुसार तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ४१९ मतान्तरले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धरम थापा मगरले दुई हजार ७१५ मत प्राप्त गरे ।
थापा २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए । तर, एमालेका नवलसिंह रावल (हाल स्वर्गीय) सँग पराजित भए । यो पटक उनी एमाले प्रवेश गरेर पुनः अध्यक्षका उम्मेदवार बने पनि जित हात पार्न सकेनन् ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका कमल साउद निर्वाचित भएका छन् । उनले तीन हजार ३३९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरस्वती देवी रावल विष्टले दुई हजार ३०३ मत प्राप्त गरिन् ।
मोहन्यालमा पालिका प्रमुख र उपप्रमुखमा कांग्रेस–माओवादीले गठबन्धन गरेको थिए भने वडामा प्रतिस्पर्धा गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।