कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार राजसमझ चौधरी विजयी भएका छन् । उनी गठबन्धनका आधिकारिक उम्मेदवार निवर्तमान गाउँपालिका अध्यक्ष लाजुराम चौधरीलाई ४ हजार ६२ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरे । निर्वाचनअघि कैलारीमा गठबन्धनले रामसमझलाई कारबाही भएको भन्दै आधिकारिक उम्मेदवार नभएको विज्ञप्ति निकालेको थियो ।
गठबन्धन दलहरूबीच अन्तिम समयसम्म पनि भागबण्डा नमिल्दा राजसमझले पार्टीको पूरै टिमसहित उम्मेदवारी दिएका थिए । तर, उम्मेदवारी दर्ता भइसकेपछि गठबन्धन दलहरूले फिर्ता बोलाएका थियो । तर, राजसमझले आफ्नो अडानमा रहेर चुनावी मैदान लडे ।
त्यस्तै, गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनी १० हजार ४ सय ८४ मत ल्याएर निवर्तमान उपाध्यक्ष माओवादीकी लक्ष्मी सत्गौवा थारूलाई पराजित गरिन् । सत्गौवाले ६ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।
गाउँपालिकाको नौवटै वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा माओवादीका उम्मेदवार विजयी भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।