निर्वाचनमा भएको तालमेलबारे समीक्षा हुन्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले निर्वाचनमा गठबन्धन दलहरूबीच भएको तालमेल सफल हुनु रहेको बताए । 

निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा कांग्रेस पहिलो दल बन्ने निश्चित भएको बेला महामन्त्री शर्माको यस्तो प्रतिक्रिया आएको हो । परिणाम आइसकेपछि भने निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा गरिने उनको भनाइ छ । 

‘प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन नै गर्न सक्दैन भन्ने पनि थियो । पहिले तीन चरणमा भएको थियो । तर, यसपटक एकै चरणमा भयो । परिणाम पनि उत्साहजनक आयो । परिणामलाई सकारात्मक भनेर अगाडि बढ्नुपर्छ’, उनले  भने, ‘निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा हुन्छ ।’

कांग्रेस पहिलो दल बन्ने अवस्थामा पुग्नु कतै गठबन्धन दलहरूबीच भएको तालमेल त कतै एक्लै निर्वाचन लड्दा निकालिएको परिणाम भएको शर्माले बताए । उनले आगामी प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पनि तालमेल हुनसक्ने सङ्केत गरे । 

‘यो तालमेल स्थानीय तहको निर्वाचनको लागि थियो । तालमेल राम्रै भयो गठबन्धन दलहरूबीच’, शर्माले भने, ‘खोलो तर्‍यो, लौरो बिर्स्यो पनि गर्नु हुँदैन । त्यसको अर्थ देशभर तालमेल गर्नुपर्छ भन्ने छैन ।’ 

१७ चैतमा गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दुई सय बढी स्थानीय तहमा तालमेल भएको थियो । तालमेलकै कारण २०७४ सालको निर्वाचनबाट पहिलो बनेको दल एमाले दोस्रो हैसियतमा रहने देखिएको छ । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ८:५१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया