कैलालीको भजनीमा पनि रेशम चौधरीको पार्टी विजयी

कैलालीको भजनी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरीले निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । 

मेयरमा केवल चौधरीले आठ हजार ९६६ मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी शेरबहादुर चौधरीले पाँच हजार १९८ मत पाए । शेरबहादुर निवर्तमान मेयर पनि हुन् ।

यसैगरी, उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४ सय मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु तिरुवा विजयी भएका छन् । 

प्रमुख, उपप्रमुख जितेको नागरिक उन्मुक्तिले ३ वडाध्यक्ष, माओवादी केन्द्रले ३ वडाध्यक्ष, नेकपा एमालेले २ वडाध्यक्ष र नेपाली कांग्रेसले १ वडाध्यक्ष जितेका छन् ।

भजनीमा नागरिक उन्मुक्तिबाट वडा नम्बर १ को वडाध्यक्षमा धर्मेन्द्र श्रेष्ठ, ३ मा विक्रम चौधरी, ६ मा रामसागर चौधरी विजयी भएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ । 

गठबन्धनमध्ये माओवादीका तर्फबाट वडा नम्बर २ मा दुर्गा पुन, ४ मा जन्ताराम चौधरी, ८ मा पंकज चौधरी र कांग्रेसका तर्फबाट वडा नम्बर ७ मा अमरबहादुर कठरिया वडाध्यक्षमा विजयी भएका छन् भने नेकपा एमालेबाट वडा नम्बर ५ मा केशब बुढा र ९ मा सञ्जीव चौधरी विजयी भएका छन् । भजनीमा यसअघि माओवादी केन्द्रले जितेको थियो ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १७:४२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया