मकवानपुरका ८ स्थानीय तहमा सकियो मतगणना, कहाँ को निर्वाचित भए ?

स्थानीय तह सदस्य पदका लागि वैशाख ३० गते भएको मतदानको अहिले मतगणना भइरहेको छ । मकवानपुरको १० स्थानीय तहहरूमध्ये आठवटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

सार्वजनिक भएको नतिजाअनुसार ६ वटा स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले जित हाँसिल गरेको छ भने २ स्थानीय तहमा एमाले विजयी भएको छ । 

जिल्लाको इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र थाहा नगरपलिकाको मतगणना सकिएको छ । बाँकी २ वटा बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा मतगणना कार्य जारी रहेको छ । 

कुन पालिकामा कसको जित ?

इन्द्रसरोवर 

जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । इन्द्रसरोवर गाउँपालिकामा एमालेका देवकृष्ण पुडासैनी विजयी भएका हुन् । 



इन्द्रसरोवर गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । इन्द्रसरोबारको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७ सय २२ मत ल्याएर जित हात पारेका हुन् । 

कांग्रेसका विश्व लामा ३ हजार ४ सय ७२ मत पाएर पराजित भए । निवर्तमान अध्यक्ष समेत रहेका एकीकृत समाजवादीका जीवन लामाले ४ सय ७९ मत ल्याएका थिए ।



उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले जित हासिल गरेकी छन् । उनले ३ हजार ७ सय २५ मत पाएर विजयी भएकी हुन् । कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६ सय ५६ मत ल्याएर हार ब्यहोरेकी हुन् ।

भीमफेदी 

मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले पाँच दलीय गठवन्नधको तर्फबाट माओवादीका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हन् । 

लामाले ५ हजार ५ सय ९१ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्याङ्तानले ५ हजार २ सय ९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार संजिव श्रेष्ठ विजयी भएका छन् । 

श्रेष्ठले ५ हजार ३ सय १५ मत प्राप्त गरे । एमालेकी पार्वती राना १६ मतान्तरले पराजित भएकी छन् । भीमफेदीका नवनिर्वाचित अध्यक्ष लामा सोही पालिकाको निवर्तमान अध्यक्ष समेत हन् ।

कैलाश

जिल्लाको कैलाश गाउँपालिकामा गठबन्धनका अध्यक्ष पदका उम्मेदवारले जीत हासिल गरेका छन् । मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मोक्तान निर्वाचित भएका छन् ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका  मोक्तानले ४ हजार ८ सय ९७  मत प्राप्त गदगर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा  एमालेका नरेन्द्र रिजालले ४ हजार ९३ मत मात्र प्राप्त गरेका थिए । 

यस्तै गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)का  बालकुमार मल्ल विजयी भएका हुन् । उनले ४ हजार ८८ मत प्राप्त गरेर उपाध्यक्ष पदमा जीत हासिल गरेका हुन् । 

त्यस्तै, उनको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सुकुमाया थिङले ३ हजार ९ सय ३७ मत प्राप्त गरेर हार व्यहोरेकी थिइन् ।

राक्सिराङ

मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका राजकुमार मल्ल ५ हजार ४ सय ८१ मत सहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गरेर पराजित हुन् ।

उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका बनस्तम् थिङ निर्वाचित भएका छन् । थिङले ४ हजार ८ सय ३९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १ सय २९ मत प्राप्त गरेर पराजित भएकी हुन् ।

मनहरी 

मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धनले जित हाँसिल गरेको छ । गठबन्धनबाट अध्यक्षका प्रतिस्पर्धी नेपाली कांग्रेसका रञ्जन कालाखेतीले ९ हजार ३ सय ६६ मत प्राप्त गरेर विजयी भएका छन् । 

उनको प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षका प्रत्यासी तथा निवर्तमान अध्यक्ष एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत प्राप्त गरेका थिए । नेकपा (एस) ले १ हजार ६ सय १४ मत प्राप्त गरेको छ ।

उपाध्यक्ष तर्फ गठबन्धनबाट नेकपा माओवादीका सीता पुलामी मगर (रेखा) विजयी भएकी छिन् । रेखाले ७ हजार ४७० मत गर्दा नेकपा एमालेका सुजिता थिङले ५ हजार १३८ मत प्राप्त गरेकी छिन् । उपाध्यक्षका उम्मेदवार तथा निवर्तमान मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले २ हजार १४१ मत प्राप्त गरेकी छिन् ।

मकवानपुरगढी

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ५ दलीय गठबन्धनको उमेद्वार विजयी भएका छन् । आज साँझ सम्पन्न मतगणनाको परिणाम अनुसार गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका दोर्जे लामा स्याङतान ६ हजार ७ सय ६ मत सहित विजयी भएका छन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान गाउँपालिका अध्यक्ष विदुर हुमागाईले ५ हजार ६ सय ४५ मत ल्याए । यसैगरि,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदमा विजय सिंह ठकुरीले १ सय ५० मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामाले २४ मत,स्वतन्त्र उम्मेदवारहरू कृष्ण प्रसाद कंडेल १२ र नवराज तिमल्सिनाले १ मत ल्याउन सफल भए ।

यसैगरि,उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीकी मान कुमारी पाख्रीन ६ हजार ११० मत सहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी सन्तु थिङले ५ हजार २ सय ४ मत ल्याउँदा राप्रपाकी हिरा देवी हुमागाईले २ सय ७ मत ल्याइन् । यसअघि,२०७४ को स्थानीय निर्वाचनमा मकवानपुरगढीको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

थाहा

थाहा नगरपालिकामा माओवादी कांग्रेस गठबन्धन उमेदवार विजयी भएका छन् । थाहा नगरको मेयरमा माओवादी केन्द्रका उमेदवार विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार भरत गोपाली विजयी भएका हुन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि थाहामा सत्तारुढ गठबन्धन नै विजयी भएको थियो । यो पटक कुल २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्टले ९ हजार ७ सय १९ मत प्राप्त गरी विजयी भएका हुन् । 

उनका निकटतम नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरे । यस्तै उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरि विजय भएका हुन् । 

उनको निकटतम् प्रतिद्धन्दी  एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरिन् । थाहा नगरमा नेकपा माओवादीले ६ वटा वडा, नेपाली कांग्रेस ३ वडा र नेकपा एमालेले ३ वडामा विजयी भएका छन् । 

१२ वडा रहेको यो नगरमा यसअघिको निर्वाचनमा माओवादी कांग्रेस गठबन्धन विजय भएको थियो ।
 
बकैया

मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका धर्मराज लामिछाने विजयी भएका हुन् । लामिछानेले ११ हजार २ सय ९२ मत प्राप्त गरेका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् भने राप्रपाका रामप्रसाद दाहालले ३ सय ६९ मत र नेकपा एकीकृत समाजवादीका नारायण प्रसाद तिमल्सिनाले १ सय ३२ मत प्राप्त गरेका छन् ।

यसैगरी, गाउँपालिका उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादीका भक्त बहादुर खत्री विजयी भएका छन् । खत्रीले ९ हजार ५ सय २२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर स्याङ्तानले ७ हजार ६ सय ५२ मत प्राप्त गरे ।
 

  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १९:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया