अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको बताएका छन् ।
अर्थमन्त्री शर्माले बिहीबार राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले सांसदले अघिल्लो सरकारले ल्याएका कार्यक्रम कटौती गरेको भन्ने आरोप लागे पनि आफूले अघिल्लो सरकारले बजेट कार्यान्वयन गरिरहेको बताए ।
मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताए । उनले त्यो बेला टेन्डर भएका सडकलाई भने आफूले नरोकेको पनि बताए ।
अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको मन्त्री शर्माले बताए । उहाँले अब सरकारले आफ्ना कुरा, सदनले आफ्ना कुरा र जनताले आफ्ना कुरा नभएर सरकार,सदन र जनताका एउटै कुरा, एउटै संकल्प गरेर देशको गरिवी अन्त्य गर्न लाग्नु पर्ने आवश्यकता रहेको बताए ।
अर्थमन्त्री शर्माले मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र बनाउनको लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्ने आवश्यकता भएकाले आगामी वर्षको बजेटको प्राथमिकता त्यता तिर रहेको बताए ।
उनले राजनीतिक दलहरुले आर्थिक क्षेत्र र विकासलाई राजनीतिकरण नगरेर राष्ट्रको हितको लागि सोची राष्ट्रिय संकल्प गर्नु पर्ने अवस्था आएको बताए ।
अर्थमन्त्री शर्माले नेपालमा सबै कुराले अनुकुलता रहेकाले अनुकुलतालाई प्रयोग गरेर मुलुकको गरिवी, बेरोजगारीको समस्या छोटो समयमा समाप्त गर्न सकिने बताए ।
अर्थमन्त्री शर्माले स्रोत साधनले धनी छौं त्यसको भरपूर प्रयोग गर्न कानुनी सहजता, संरचनागत पुनसंरचना गरेर जानु पर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले अब कुन क्षेत्रमा लगानीले कति प्रतिफल दिन्छ भन्ने बारेमा चासो दिनुपर्ने बेला आएको बताए ।
अर्थमन्त्री शर्माले इन्धनको मूल्य बढ्दा हरेक क्षेत्रमा असर पर्ने गरेको भन्दै यसतर्फ पनि आफ्नो ध्यान गएको जानकारी गराए । उनले पछिल्लो समय युक्रेन र रुसको युद्धको प्रत्यक्ष प्रभावका नेपालको अर्थतन्त्र परेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।