मधेस प्रदेशका मुख्यमन्त्री राउतकी पत्नी गाउँपालिकाको उपाध्यक्षमा पराजित
स्वकीय सचिवले पनि जोगाउन सकेनन् जमानत
फरकधार / ६ जेठ, २०७९

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी गाउँपालिकाको उपाध्यक्षमा पराजित भएकी छन् । 



जनता समाजवादी पार्टीबाट पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनेकी मुख्यमन्त्रीकी पत्नी जलेखा खातुन पराजित भएकी हुन् । 
उनले ३ हजार १२३ मत प्राप्त गर्दै तेस्रो स्थान प्राप्त गरेकी छन् । 

जगरनाथपुरको उपाध्यक्षमा नेपाली कांग्रेसकी बबिता सिंहले ५ हजार ५३१ मत प्राप्त गरी विजयी भएकी छन् भने नेकपा एमालेकी मीरादेवी कुर्मीले ३ हजार ३४५ मत ल्याएर दोस्रो भएकी छन् ।



सो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका श्रीकान्त प्रसाद यादव ५ हजार ७४९ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहम्मद सलिम मंसुरले ३ हजार ९२६ र जसपाका कृष्णमोहन प्रसाद यादवले ३ हजार ४४७ मत पाएका छन् । 



यसअघि मुख्यमन्त्री राउतका पुर्वमुख्य स्वकीय सचिव दीपक यादव र स्वकीय सचिव पशुपति यादव पनि पराजित भएका छन् । दीपकले जमानतसमेत जोगाउन सकेनन् । 

निर्वाचन हुनुभन्दा अघि राजीनामा दिएर पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका दीपक यादवले चौथो स्थान हासिल गरे । उनले मात्र ४६९ मत ल्याउन सकेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो गाउँपालिकामा नेपाली कांग्रेसका दिनेशकुमार चौधरीले ५ हजार १४४ मत ल्याएर निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिनाराण चौधरीले ३ हजार ९४४ मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेपाल सुशासन पार्टीका लालबाबु महरले ७२३ र जसपाका दीपक यादवले ४६९ मत पाएका छन् ।

बिहीबार मतगणना सम्पन्न भएपछि आएको मतपरिणामअनुसार यादव चौथो नम्बरमा सीमित भएका हुन् ।

उपप्रमुखमा पनि कांग्रेसकै ममता महतो ४ हजार ४४४ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्तुरा देवीले ४ हजार १३ मत प्राप्त गरेकी छन् ।

मुख्यमन्त्री राउतका स्वकीय सचिव पशुपति यादव पनि धनुषाको कमला नगरपालिकाको मेयर पदमा पराजित भएका छन् । 

त्यस पालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

मेयरमा विश्वेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका मुख्यमन्त्री राउतका स्वकीय सचिव पशुपतिले २ हजार ८५९ मत ल्याए ।

यस्तै उपमेयरमा कांग्रेसकै शिला देवी मण्डल निर्वाचित भएकी छन् । उनले ३ हजार ८८७ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीकी सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत ल्याइन् ।

  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १५:३७:२१,   अन्तिम अपडेट : जेठ ६, २०७९ शुक्रबार १५:४०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया